स्पेन र अर्जेन्टिनाबीच निर्णायक भिडन्त
newsofnepal.com · Sun Jul 19 06:11:16 GMT 2026
आज राति १२ बजेर ४५ बजे विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीच महाभिडन्त हुने अपेक्षा गरिएको छ । अर्जेन्टिना चौथो विश्वकप उपाधिको लागि प्रयासमा हुनेछ भने स्पेन दोस्रो विश्वकप जित्ने तरखरमा रहनेछ । यानि फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । सेमिफाइनलमा उपाधि दावेदारीमा रहेको फ्रान्सलाई २–० ले हराएर स्पेनी टोली फाइनलमा पुगेको हो । स्पेनको यो दोस्रो विश्वकप फाइनल हो । यसअघि स्पेनले पहिलोपटक २०१० को फाइनल खेल्दा पहिलो प्रयासमै उपाधि जितेको थियो । तर, यसपछि भने स्पेनको विश्वकप यात्रा निकै निरासजनक बनेको थियो । तर, यसपटक भने फाइनल पुगेपछि स्पेनले उपाधि जित्ने सकिने अनुमान लगाइरहेको छ ।
स्पेनले फाइनलसम्म पुग्न नकआउट चरणदेखि नै युरोपेली टोलीलाई हराएको थियो । स्पेनले अन्तिम ३२ मा अस्ट्रिया, अन्तिम १६ मा पोर्चुगल, क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई हराएको थियो । तर, फाइनलमा भने तीनपटकको विश्व विजेता अर्जेन्टिना कठिन प्रतिद्वन्द्वी परेको छ । स्पेनले यस विश्वकपमा अहिलेसम्म एक गोल मात्रै बेल्जियमविरुद्ध आत्मसात गरेको छ । यसले स्पेनको रक्षापंक्ति निकै सुदृढ रहेको पुष्टि गर्छ । फ्रान्सलाई पनि स्पेनको रक्षकहरूले हायलकायल पारेको थियो । जसले गर्दा एम्बाप्पे, डेम्बेले जस्ता गोलस्कोरर रितो हात फर्कनु परेको थियो । स्पेनले विपक्षीको पोस्टमा १३ गोल प्रहार गरेको छ । यसले आक्रमक विधा पनि सशक्त रहेको प्रमाणित गर्छ । स्पेनका लागि मिकेल ओयारजबलले सर्वाधिक ५ गोल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)