धार्मिकस्थलमा ‘अधार्मिक’ कार्य
annapurnapost.com · Fri Feb 04 06:00:00 GMT 2022
धार्मिक मान्यता नै छ, दानदक्षिणा गरे धर्म कमाइन्छ। पुण्य प्राप्ति हुन्छ। त्यही भएर, हुने खानेदेखि हुँदा खानेले पनि मठमन्दिर र गुठीका नाममा जग्गाजमिन र धनदौलत दान गर्छन्। दान दातव्य गर्ने धार्मिकस्थलकै सम्पत्तिमा ‘आँखा गाड्ने’ कल्पना पनि गर्न सकिन्न। तर, प्रसिद्ध धार्मिकस्थल पाशुपत क्षेत्रको विकास निर्माण, नियुक्ति र भवन भाडामा व्यापक अनियमितता भएको पाइएको छ। त्यो पनि, पाशुपत क्षेत्रको विकास र समृद्धिका लागि गठन भएको कोषकै जिम्मेवार व्यक्तिहरूबाट। पदाधिकारीहरू पशुपतिको संरक्षण र विकासका लागि नियुक्त भएका हुन् वा पशुपतिको सम्पत्ति धरासायी बनाउन ? भन्ने छुट्ट्याउन गाह्रो भएको छ। को को मात्र यसमा संलग्न छन्, त्यो छानबिनले प्रष्ट पार्ला। तर, प्रसिद्ध धार्मिकस्थलमा ‘अधार्मिक’ कार्य गर्नेको राज चलिरहेको देखिन्छ।
सनातनदेखि स्थापित धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको पाशुपत क्षेत्रको धर्मशाला सञ्चालनदेखि बाटोमा ढुंगा छाप्ने र सरसफाइ गर्न दिनेसम्मका काममा अनियमितता पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनमा पशुपतिनाथको जग्गा, ती जग्गामा निर्माण भएका भौतिक संरचनाको भाडा निर्धारण, गौशाला प्रहरी कार्यालयदेखि पशुपतिनाथतर्फ जाने बाटोमा ढुंगा छाप्ने कामको ठेक्का नियमविपरीत भएको उल्लेख छ। त्यतिमात्र नभई वनकाली धर्मशाला र पर्यटन सूचना केन्द्रको भवन, गौशाला धर्मशाला, सुमार्गी भवन, वनकालीमा पूmलपाती तथा सोभिनियरका पसल निर्माण र भाडामा अनियमितता भएको सतर्कता केन्द्रको प्रतिवेदनमा छ। पाशुपत क्षेत्रमा ६ करोडको बजेटमा प्लिजिङ लाइटिङको काम पनि व्यवस्थित र पारदर्शी नरहेको भेटिएको छ। वनकाली धर्मशाला र पर्यटन सूचना केन्द्रको भवन भाडामा पनि अनियमितता छ। पशुपतिनाथलाई प्राप्त सम्पत्तिमै हिनामिना र अनियमितता हुनु ‘पाप मात्र नभई महापाप’ भएको धार्मिक अभियन्ताहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)