प्रहरीले सार्वजनिक जग्गामा उम्रिएको गाँजाको बोट गर्यो नष्ट
annapurnapost.com · Sun Jul 19 07:59:05 GMT 2026

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका–४ निगालपानीस्थित सार्वजनिक जग्गामा आफैं उम्रिएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आइतबार बिहान प्राप्त सूचनाका आधारमा प्रहरी चौकी जुगारबाट प्रहरी नायब निरीक्षक राजबहादुर थापा क्षेत्रीको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली गाँजाको बोट फँडानीमा खटिएको थियो ।
टोलीले करिब एक रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा उम्रिएको २ सय जति गाँजाको बिरुवा फँडानी गरी नष्ट गरेको जनाएको छ । गाँजा उम्रिएको स्थान प्रहरी चौकी जुगारबाट करिब १६ किलोमिटर पश्चिममा पर्ने प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)