नौ वटा फर्म वाणिज्य विभागको कारवाहीमा
nepalnews.com · Thu Jun 04 03:02:04 GMT 2026

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा कैफियत भेटिएका नौ वटा व्यावसायिक फर्ममाथि कारवाही गरेको छ।
विभागले बुधबार गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानूनबमोजिम सञ्चालन नभएका व्यवसायलाई जरिबाना तथा आवश्यक सुधारका लागि निर्देशन दिएको हो।
विभागका अनुसार ललितपुर महानगरपालिका क्षेत्रमा सञ्चालित टाउन ब्वाइज एन्ड गल्र्स होस्टेल लाई दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।
त्यसैगरी, जावलाखेलस्थित ब्ल्यु फक्स रेस्टुरेन्ट लाई २० हजार रुपैयाँ, काठमाण्डौ महानगरपालिका–६ बौद्धस्थित साम्भाला होम प्रालि लाई १० हजार रुपैयाँ तथा कोल्ड एन्ड हट स्पाइसी नुडल्स लाई पाँच हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा अन्य पाँच वटा व्यावसायिक प्रतिष्ठानमा समेत विभिन्न कमजोरी तथा त्रुटि भेटिएकाले आवश्यक सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले बजारमा हुन सक्ने अवाञ्छित गतिविधि, कालोबजारी तथा उपभोक्ता ठगी नियन्त्रण गर्न नियमित अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)