आजदेखि ई-पासपोर्ट
annapurnapost.com · Wed Nov 17 06:33:00 GMT 2021
काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्।
महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्। विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो। ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ। पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताए। अरू प्रकारका भने जनवरीदेखि मात्रै जारी हुनेछन्। ‘केही साता सीमित मात्रै ई–पासपोर्ट वितरण गर्छौं’, अर्यालले भने, ‘बिस्तारै बढाएर लान्छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)