रसुवागढीपछि किमाथाङ्काको बहस
gorkhapatraonline.com · Sun Sep 20 02:50:06 GMT 2026

भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी–केरुङ सीमानाका र त्यहाँका महत्वपूर्ण पूर्वाधारमा ठुलो क्षति पुर्याएपछि नेपाल–चीनबिचको उत्तरी व्यापारिक सम्पर्कका लागि पूर्वी नाकाको सम्भावना र महत्व फेरि बहसको केन्द्रमा आएको छ । रसुवागढी नाका हुँदै हुने व्यापार तथा आवागमनमा परेको गम्भीर प्रभावसँगै चीनसँग जोडिएका कोशी प्रदेशका किमाथाङ्का र ओलाङचुङ्गोला नाकाको पूर्वाधार विकास र सञ्चालनलाई तीव्रता दिनुपर्ने आवाज बढेको छ । विशेष गरी सङ्खुवासभाको किमाथाङ्का नाका, खाँदबारी–किमाथाङ्का सडक, अरुण नदीमाथिका पुल र एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको विषय अब पूर्वी नेपालको मात्र नभई राष्ट्रिय व्यापारिक र रणनीतिक प्राथमिकताका रूपमा हेरिन थालेको छ ।
रसुवागढीमा भएको प्राकृतिक विपत्तिले एउटा प्रमुख उत्तरी नाकामा अत्यधिक निर्भर रहँदा उत्पन्न हुन सक्ने जोखिमलाई समेत उजागर गरेको छ । चीनसँगको व्यापार, पारवहन र आपूर्ति प्रणालीलाई थप सुरक्षित र विविध बनाउन वैकल्पिक उत्तरी नाकाको पूर्वाधार विकास आवश्यक रहेको सरोकारवालाको भनाइ छ । यसै सन्दर्भमा चीनले किमाथाङ्का नाकासहित कोशी कोरिडोरको पूर्वाधार विकासमा चासो देखाउँदै आएको छ । किमाथाङ्कामा एकीकृत जाँच चौकी निर्माण, सडक स्तरोन्नति तथा अरुण नदीमाथिका पुल निर्माणका विषयमा नेपालले औपचारिक प्रस्ताव अघि बढाए चीन सहयोग गर्न तयार रहेको विषय यसअघि नै सार्वजनिक भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)