एसियाकै ठुलो खेल मेला
gorkhapatraonline.com · Sun Sep 20 03:00:28 GMT 2026
‘इमाजिन वन एसिया’ को नारासहित एसियाको सर्वाधिक ठुलो खेल मेला एसियाली खेलकुद सुरु भएको छ । एसियाका करिब १७ हजारभन्दा बढी खेलकर्मी यस खेल महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको आइची नागोयामा छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) अन्तर्गतको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को आयोजनामा हुने एसियाली खेलकुदमा एसियाली देशले मात्र भाग लिन सक्छन् । यद्यपि यी देश ओसिएमा सामेल हुनु पर्छ । सबै एसियाली देश ओसिएमा सामेल पनि छन् । नेपाल पनि यसको सदस्य हो । पहिलो एसियाली खेलकुद मार्च ४ देखि ११ सम्म भारतको नयाँ दिल्लीमा आयोजना गरिएको थियो । जापानको आइची नागोयामा शनिबार सुरु भएको खेलकुद मेला एसियाडको २० औँ संस्करण हो । आइची नागोया एसियाडमा ४३ खेल समावेश गरिएको छ । २० औँ एसियाडमा ४५ राष्ट्र तथा ओलम्पिकको झन्डामा खेल्ने शरणार्थी टिम सामेल एक टिम एसियाडमा सहभागी छन् । ४३ खेलका ७१ विधामा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ । नेपालले २१ खेलमा भाग लिएको छ । जसका लागि १३५ नेपाली खेलाडी जापानमा छन् । यस पटक पनि चीन सर्वाधिक पदक जित्ने दाबेदार राष्ट्र हो । विश्वको सर्वाधिक ठुलो खेल मेला ओलम्पिकको पछिल्लो संस्करणमै अमेरिका सरह सर्वाधिक स्वर्ण पदक जित्ने चीनले सधैँ एसियाली खेलकुदमा हाबी नै हुँदै आएको छ । घरेलु मैदान र समर्थकका साथमा खेल्ने आयोजक जापान दोस्रो अनि दक्षिण कोरिया तेस्रो स्थानमा रहने अनुमान गरिएको छ । यसपछिको स्थानमा अन्य राष्ट्रको प्रतिस्पर्धा रहने छ । नेपालको भने यस एसियाडमा स्वर्णसहित दोहोरो अङ्क जित्ने महत्वाकाङ्क्षी लक्ष्य छ ।
एसियाली खेलकुदमा नेपालको सहभागिताको कुरा गर्दा नेपाल सबभन्दा धेरै सहभागी हुने राष्ट्रमध्येमा पर्छ । भारतको नयाँ दिल्लीमा आयोजित एसियाली खेलकुदको पहिलो संस्करणमा भाग लिने ११ भाग्यशाली देशमध्ये नेपाल एक हो । दोस्रो एसियाडबाहेक सबै एसियाडमा नेपालले भाग लिएको छ । यद्यपि नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । हरेक संस्करणमा फाट्टफुट्ट मात्र पदक आउने गरेको छ । त्यति हुँदाहुँदै पनि ओलम्पिकमा पदक जित्न अलि असम्भव नै नेपालका लागि बृहत् खेलकुद मेलामा पदकको सपना साकार हुने वास्तविक मञ्च एसियाड हो भन्दा फरक पर्दैन । पर्याप्त सुविधा र एक्सपोजर नहुँदा पनि एसियाडमा नेपालले अहिलेसम्म तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ । बैङ्ककमा भएको १३ औँ संस्करणमा तेक्वान्दो खेलाडी सविता राजभण्डारी, जाकार्ता–पालेमबाममा भएको १८ औँ संस्करण पाराग्लाइडिङ र पछिल्लो संस्करणमा कराँतेकी एरिका गुरुङले दिलाएको रजत अहिलेसम्म नेपालका लागि एसियाडमा सबभन्दा ठुलो पदकका रूपमा रहिआएको छ । पक्कै यस एसियाडमा नेपालले यो सङ्ख्यामा बढोत्तरी गर्ने छ । अझ यस पटक नेपालले स्वर्णसहितको दोहोरो पदकको लक्ष्य लिएको छ । यसका लागि नेपालले विगतमा भन्दा तयारी पनि राम्रो गरेको छ । एसियाडलक्षित तयारी नेपालले विगत तीन वर्षदेखि गरेको थियो । पछिल्ला दुई महिनादेखि सबै टिम उच्चस्तरीय बन्द प्रशिक्षणमा थिए । १२ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)