प्रहरीमा अझै दास मानसिकता ?
rajdhanidaily.com · Tue Jan 21 23:18:44 GMT 2025
मालिकको सेवा गर्ने सेवक वा अनुचरलाई दास भनिन्छ । प्राचीनकालमा धनीमानी व्यक्तिले आफ्नो तथा घरपरिवारको सेवाका लागि दास राख्ने गर्थे । दासको मुख्य काम नै मालिकको सेवा गर्ने, मालिकको वचन नकाट्ने, मालिकप्रति वफादार बन्ने तथा मालिकको परिवारलाई रिझाउने हुन्थ्यो । मालिक रिझाएसम्म दास एकै घरमा आजीवन बस्न पाउँथे । मालिक रिझाउन नसक्ने दास, मालवस्तु बिक्री गरेजस्तै गरी बेचिन्थे । युरोपियन मुलुकमा सामन्तवादको उदय भएसँगै वा सन् ४७६ देखि नै प्रचलनमा आएको दासप्रथा लामो समयसम्म कायम रहँदै आएको थियो । नेपालमा भने दासप्रथा सय वर्षअगाडि वा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालमा १९८१ सालबाट अन्त्य भएको थियो ।
दास मानसिकताको अवशेष प्रहरीमा अझै छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्ला । यो किंवदन्ती होइन, प्रहरी कर्मचारीबीचकै पारस्परिक व्यवहारले देखाएको परिदृश्य हो । तल्लो तहका अधिकांश प्रहरी कर्मचारीमा अझै पनि दास मानसिकताको अवशेष छ भन्ने कुराको केही व्यावहारिक पक्षलाई यस आलेखमा चर्चाको विषय बनाइएको छ । कानुनले स्थापित गराएको नभए पनि यो अवस्था व्यवहारले स्थापित गराउँदै ल्याएको देखिएको छ । स्मरणरहोस्, स्थापनाकालदेखि नै नेपाल प्रहरी दुई समूहमा विभाजित हुँदै आएको थियो । यो मानसिकता अहिले पनि कायमै छ । प्रहरीलाई विभाजित दृष्टिले हेर्ने प्रचलनको प्रारम्भकर्ता पनि ब्रिटिस एवं भारतीय सेनामा सेवा गरेर फर्केका पूर्वसैनिकहरू नै थिए । उपनिवेशकालमा धेरै नेपाली भारतीय एवं ब्रिटिस सेनामा भर्ना भएका थिए । कतिपय नेपाली पनि योग्यता र दक्षताको आधारमा अधिकृतस्तरमै सोझै भर्ना हुन पाउँथै भने अधिकांशले तल्लो तहबाटै सेवा प्रारम्भ गर्नुपथ्र्यो । अधिकृतस्तरमा सोझै भर्ना हुने अधिकृतहरूलाई कमिसन अफसर र तल्लो तहबाट बढुवा हुँदै अधिकृत स्तरमा पुग्नेलाई ननकमिसन अफसर भनिन्थ्यो । एउटै दर्जाका अधिकृतहरूलाई यसरी विभेदित ढंगले अंग्रेज अफसरले हेर्ने गर्थे । अंग्रेजहरूले पछि नेपालीले पाउँदै आएको कमिसन अफसर बन्ने प्रचलन नै खारेज गरेपछि सबै नेपालीले सिपाही पदबाटै भर्ना हुनुप¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)