जनजीवीका कष्टकर बन्दै
rajdhanidaily.com · Wed Jul 07 23:23:39 GMT 2021
एलपी ग्यासको भाउ बढेसँगै जनजीवीका कष्टकर बन्दै गएको छ । सहरमा मात्र होेइन ग्रामीण इलाकामा समेत ग्यासबाट खाना पकाउन थालेपछि ग्यासको प्रयोग व्यापक बन्दै गइरहेको छ । यही एलपी ग्यासका मूल्य बढेसँगै साझँबिहान चुलो जलाउन गाह्रो हुन थालेको छ । प्रयोगका हिसाबले बढी सुरक्षित र स्वास्थ्यका लागि पनि कम हानिकारक हुने भएकाले एलपी ग्यासको प्रयोग ग्रामीण इलाकासम्म विस्तार हुन गएको हो । तर, यही एलपी ग्यासको भाउ बढेसँगै जनसाधारणको जीवन प्रभावित हुन गएको छ । एलपी ग्यासको भाउसँगै पेट्रोलको भाउ पनि अकासिन पुग्दा सर्वसाधारणले प्रयोग गर्ने मोटरसाइकलजस्ता छिटा र छरिता बहानसमेत प्रयोगमा ल्याउन कठिन बनिरहेको छ । साँझबिहान चुलो जलाउने, आपतविपत्मा सवारी साधन प्रयोग गर्ने तथा ढुक्क भएर जीवीकोपार्जन गर्ने साधन महँगीन जाँदा जनजीवन बढी कष्टसाध्य हुन गएको छ । महामारीसँगै कठिन हुँदै गएको जनजीवन महँगीको मारले गर्दा झनै कष्टकर हुन पुगेको छ । यतिबेला सरकार, व्यापारी तथा वस्तु बिक्रेताले जनजीवन सरल, सहज र पहुँचयोग्य बनाउनुभन्दा पनि राजस्व, मुनाफा तथा फाइदाका हिसाबले महँगो बनाउन पुग्दा दैनिक जीवन गुजारा कठिन बन्न गएको हो ।
एलपी ग्यास अब हुने खाने र बाठाबाठाले प्रयोग गर्ने साधन मात्र बनिरहेको छैन । बरु, यो सर्वसाधारणको घरघरमा विकासी चुलोका रूपमा भित्रिसकेको छ । दाउराको कमीलाई यसले पूर्ति गरिरहेको छ । धुँवा नआउने चुलोका हिसाबले मात्र होइन, बूढाबूढी तथा दीर्घरोगी र केटाकेटीले समेत यसको सहजै प्रयोग गर्न सक्ने र आपत्कालीन अवस्थामा पनि सहजै प्रयोग गर्न सकिने भएकाले यसको व्यापक प्रयोग हुँदै गएको हो । वस्तुहरूको जति ठूलो मात्रामा प्रयोग हुन्छ त्यति भाउ घट्नुको सट्टा दिन प्रतिदिन भाउ अकासिँदै जानु असंगतिपूर्ण कुरो हो । तर, यो असंगतिपूर्ण कुराको खोज, निदान तथा निराकरण गर्न भने धेरैको जाँगर चलेको देखिँदैन । उपभोक्ताले विरोध गर्न पनि छोडिसकेका छन् । विक्रेताले भाउ बढिसक्यो भनेर मनोमानी मूल्यमा बिक्री गर्न पनि छोडिरहेका छैनन् । सरकारी तथा नियामक निकाय मूकदर्शक बनिरहेका छन् । यिनीहरूको चेकजाँच गर्ने, अध्ययन, अनुगमन गर्ने तथा अनावश्यक मूल्यवृद्धि नियन्त्रणका लागि पहल लिने काम हुन सकेको छैन । सरकारले पनि अभिभावकीय हैसियतले आफ्नो जिम्मेवारी पूरा गर्न सकिरहेको छैन । एलपी ग्यासको भाउ अकाशिएसँगै वर्षाको झरीमा अर्कोे समस्या निम्तिएको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको हाम्रो देशमा कुनै पनि नियमित प्रयोग गरिने वस्तुको मूल्यमा हुने उतारचढावले सिंगो जीवन कठिनाइतिर धकेल्ने गरिरहेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)