बिग्रिँदै छ शैक्षिक संस्कार
abhiyandaily.com
संस्काररहित शिक्षामा गरिएको सम्पूर्ण लगानी व्यर्थ हो । शिक्षाको महात्म्य जत्ति नै बखान गरे पनि अपुग नै हुनेछ । शिक्षामा बढ्दो व्यवसायीकरणले भएभरको शैक्षिक मर्यादामाथि कुठाराघात गर्दै गएको पनि देखिएको छ । योग्य चिकित्सक, इन्जिनीयर, निजी वा सरकारी जागीरे, व्यवसायी आदि उत्पादन भएको तथ्यांकलाई नियाल्दा शैक्षिक सूचकांक आकर्षक देखिए तापनि त्यति अनुपातमा विदेशिनेको संख्यामा वृद्धि, अनैतिक कमाइ, अख्तियारको दुरुपयोग र भ्रष्टाचार, सामाजिक दुराचार र कर चुहावट आदि पनि नबढेको होइन । त्यसैले कतै न कतै हामी शिक्षाको मूलभूत तात्पर्य नै बिर्सेका छौं या त नयाँ पुस्तालाई बुझाउनै सकेका छैनांै । नयाँ पुस्ताले शिक्षा धेरै कमाउने, आरामदायी जीवनको माध्यम बनाउने जस्ता कुरालाई नै सफलताका रूपमा हेर्न थालेको छ । यसले जीवनमा सफलता र शिक्षाको परिभाषा नै संकुचित बनाएको छ । शिक्षा ऐन २०२८ र समयसमयमा आएका संशोधन साक्षरता र शैक्षिक सूचकांक बढाउन धेरै हदसम्म सफल भएकै छन् । सरकारी र विश्वविद्यालय स्तरको प्रयासहरूले सकेसम्म विद्यालय र विश्वविद्यालयस्तरको पाठ्यक्रम अत्यन्त सहज बनाउने प्रयास पनि जारी नै छ ताकि उत्तीर्ण गर्नेहरूको संख्या बढी हुनसकोस् । यसले विद्यार्थीमा पढाइप्रति आलस्य नै ल्याएको छ । त्यसमाथि पनि निजी विद्यालयहरूको अध्यापन शैली शुरूदेखि नै विवादास्पद रहेको छ जहाँ विद्यार्थीको सृजनशीलताभन्दा पनि घोकाएर आकर्षक ग्रेड ल्याउनेमा बढी केन्द्रित हुन्छ ।
गुणस्तरीय शिक्षा र राम्रो संस्कारको अपेक्षामा बच्चालाई निजी शैक्षिक संस्थामा नामांकन गराइन्छ तर सरकारीतन्त्रको कमजोरी र शैक्षिक संस्थाको अदूरदर्शिताले २१औं शताब्दीमा पनि शिक्षा महँगो बनेको छ । स्थानान्तरण प्रमाणपत्रको नाममा हजारौं रुपैयाँ शुल्क लिइन्छ । जागीरमा स्थानान्तरण प्रमाणपत्र सार्थक रहे तापनि विद्यार्थीले एक शैक्षिक संस्थाबाट अर्कोमा नामांकन गराएबापत विद्यालयले असुल गर्ने स्थानान्तरण प्रमाणपत्र शुल्कको कुनै आवश्यकता देखिँदैन । निजी स्कूलहरूमा पूर्वप्राथमिक तहमा चलाइने पीजी, नर्सरी, एलकेजी, यूकेजी जस्ता मात्र मासिक र अन्य शुल्क असुलउपर गर्ने पद्धति व्यावसायिक सोचभन्दा बढी केही होइन । यी तहमा पढाइने सम्पूर्ण विषयवस्तु सजिलै सीधा कक्षा एकमा पढाउन र सिकाउन सकिन्छ । यसले सामुदायिक विद्यालयहरू र निजी विद्यालयहरूबीच अन्तर जन्माएको छ । हरेक तहको हरविषयका पाठ्यपुस्तक हरेक वर्ष परिवर्तन गराइन्छन् । विद्यार्थीहरूको पोशाक, पेटी, टाई, मोजा, कापी विद्यालयबाटै वा तिनले अह्राएको पसलबाट चर्को मूल्य तिरी किन्नुपर्ने बाध्यता हुन्छ । यो कस्तो शैक्षिक संस्कार विकसित हुँदै छ ? संघीय, स्थानीय सरकारको मौनता अचम्म लाग्दो छ । पूर्वप्राथमिक र प्राथमिक तहका कतिपय विद्यालयहरूमा लिइने शुल्कहरूको बराबर विश्वविद्यालयका स्नातक र अन्य कतिपय तहको शुल्क रहेको समेत पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)