मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ महिला क्रिकेटमा मधेसको विजयी सुरुआत, कोसीका दुई खेलाडीको अर्धशतक ओझेलमा

baahrakhari.com · Sat Jun 06 16:00:09 GMT 2026

सुर्खेत । सुर्खेतमा जारी यू–१९ राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । शनिबार (जेठ २३) वीरेन्द्रनगरस्थित कालुङचोक मैदानमा भएको खेलमा मधेसले कोसी प्रदेशलाई आठ विकेटले हराएको हो ।

कोसीका टीका शाह र प्रिन्सा रानामगरले अर्धशतकीय इनिङ्स खेलेका थिए । मधेसकी सना परविनको उत्कृष्ट प्रदर्शनले उनीहरूको उक्त इनिङ्स ओझेलमा पर्‍यो ।

१२३ रनको विजयी लक्ष्य मधेसले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । मधेसको जितमा सनाले अविजित ५२ रनको योगदान दिइन् । उनले ४९ बलमा सात चौकासहित ५२ रन बनाइन् ।

खेल जित्न दुई रन आवश्यक रहेको अवस्थामा चौका प्रहार गर्दै उनले आफ्नो अर्धशतक पूरा गरेकी थिइन् । उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभवलाई उपयोग गर्दै उनले संयमित र जिम्मेवार ब्याटिङ प्रदर्शन गरिन् ।

सनालाई साक्षी यादवले राम्रो साथ दिइन् । उनले ४० बलमा आठ चौकासहित ४६ रन बनाइन् । सना र साक्षीबीच भएको साझेदारीले मधेसलाई सहज जिततर्फ डोर्‍यायो । कोसीका निम्ति शुभेच्छा लिम्बूले दुवै विकेट लिइन् ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको थियो । ओपनर पूर्णिमा राजवंशी रनविहीन हुँदै आउट भए पनि टीका शाह र प्रिन्सा रानामगरले उत्कृष्ट ब्याटिङ गरे ।

टीकाले ३६ बलमा ११ चौकासहित ५१ रन बनाइन् । प्रिन्साले अविजित ५५ रनको इनिङ्स खेलिन् । उनले ६८ बलमा नौ चौका प्रहार गर्दै प्रतियोगिताको पहिलो अर्धशतक बनाएकी थिइन् । त्यसपछि टीकाले दोस्रो अर्धशतक पूरा गरेकी हुन् । यद्यपि, दुवैको उत्कृष्ट प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त बन्न सकेन ।

गण्डकीको लगातार दोस्रो जित

शनिबारै वीरेन्द्रनगर रंगशालामा भएको अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १८.३ ओभरमा ६३ रनमै समेटिएको थियो । टोलीका निम्ति अञ्जी पाठकले १३ र योजना थापाले १२ रन बनाए । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अतिरिक्तबाट लुम्बिनीले १३ रन प्राप्त गरेको थियो ।

लुम्बिनीलाई सस्तैमा समेट्न गण्डकीकी रचना चौधरी र कुशुम गोदारले समान तीन/तीन विकेट लिए । दुवैले आठ/आठ रन मात्र खर्चिएका थिए । रञ्जना साउदले दुई विकेट हात पारिन् ।

६४ रनको लक्ष्य पछ्याएको गण्डकीले १२.४ ओभरमा पाँच विकेट गुमाउँदै जित हासिल गर्‍यो । गण्डकीका निम्ति ज्योत्सिनी मरासिनी र दीपिका सापकोटाले समान १६/१६ रन बनाए ।

लुम्बिनीका आशना चौधरी र आयुषा भुसालले समान दुई/दुई विकेट लिए । विमिता मगरले एक विकेट हात पारिन् ।

#मधेस प्रदेश

#कोसी प्रदेश

#अर्धशतक

#यू–१९ महिला क्रिकेट

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय