एसियाडमा सेमिफाइनलबाटै बाहिरिन् एरिका
nepalnews.com · Sun Sep 20 09:03:31 GMT 2026
काठमाडौं। नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुद (एसियाड) को महिला ६८ केजीमाथिको सेमिफाइनलमा पराजित भएकी छन्। आइतबार जापानको तोयोहाशी जिम्नाजियममा भएको सेमिफाइनलमा एरिका काजकिस्तानकी सोफिया बेरुल्टसेभासँग २-१ ले पराजित भइन्।
कडा प्रतिस्पर्धाबीच एरिकाले खेल आफ्नो पक्षमा पार्न सकिनन्। यसअघिको संस्करणको फाइनलमा पनि एरिका बेरुल्टसेभासँगै पराजित भएकी थिइन्। यसअघि क्वार्टरफाइनलमा एरिकाले जोर्डनकी यारा नासेरलाई ७-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। १९औं एसियाडमा एरिकाले करातेबाट नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)