मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पर्यटन प्रवद्र्धनमा आशापुरीको महत्व

rajdhanidaily.com · Mon Feb 05 23:27:26 GMT 2024

आशापुरे महादेवको मन्दिर चारैतिर पहाडले घेरिएको छ । यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्र भाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरी महादेवको शिवलिंग सानो कालो पत्थरको छ, जुन अति सुन्दर देखिन्छ । शिवलिंग वरिपरी बेरिएको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षित बनाएको छ । मुख्य मन्दिर वरिपरी गणेशलगायत विभिन्न देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरको ठीक अगाडि उत्तरतर्फ पञ्चमुखी धारा छन् । जुन धारामा २४सै घण्टा कलकल ध्वनीमा पानी बग्ने गर्छ । मन्दिरको प्रसिद्धि र भक्तजनको ओइरोसँगै आशापुरी क्षेत्र भौतिक पूर्वाधारको समेत विकास बिस्तारै हुनथालेको पाइन्छ । आशापुरे महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो । आशापुरेश्वरबाट अपभ्रंश भई आशापुरी हुन गएको इतिहास तथा संस्कृतविद्हरू बताउँछन् । विशेषगरी मनले चिताएको इच्छा, आकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती छ ।

आशापुरेश्वरमा विशेषगरी सन्तान र सुख आदि प्राप्तिका लागि पूजा आराधना गर्ने बताइन्छ । आशापुरी महादेव धार्मिक र सांस्कृतिक दृष्टिले निकै नै महत्वपूर्ण छ । यी महादेव लिच्छिवीकालीन हुन्, जुन शिव पुराणमा वर्णित ६४ शिवलिंगमध्ये एक हो । भक्तपुर र काभ्रेको संगममा पर्ने आशापुरी महादेव दर्शन गरे मनको इच्छा पूरा हुने जनविश्वास छ । यो मन्दिर भक्तपुर, काभ्रेको संगममा डोलेश्वरबाट ६ किमीको दूरी साँगा महादेवबाट ५ किमीको दूरी र पनौती नगरपालिका–३ मा भएको महादेवबाट ४ किमीको दूरीमा पर्छ । त्रिवेणीको संगम नैचाल खोला, काँक्रबारी खोला र पनौती–१ कुबाडोलबाट आउने खोलाको त्रिवेणीमा अवस्थित छ, यो महादेव ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)