बरघर प्रथालाई कानुनी मान्यता दिइने
gorkhapatraonline.com · Sun Jan 26 17:42:28 GMT 2025

धनगढी, माघ १३ गते । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डँगौरा) समुदायको बरघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ ।
मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले बरघर प्रथाको संरक्षणका लागि पहल सुरु भएको बताउनुभयो । उहाँले सैद्धान्तिक सहमति प्राप्त भइसकेपछि थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा आयोजित माघी महोत्सव कार्यक्रममा थारू समुदायको संस्कृति संरक्षणका लागि बरघर प्रथालाई मान्यता दिनेगरी ऐन बनाउन लागिएको जानकारी गराउनुभयो । यस प्रथाले कानुनी मान्यता पाउन सकेमा कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)