स्वास्थ्य बिमाबापत तीन महिनाको औषधी एकै पटक
gorkhapatraonline.com · Sat Dec 16 00:54:41 GMT 2023
काठमाडौँ, मङ्सिर ३० गते । स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि तीन महिनाका लागि औषधी पाउने निर्णय गरेको हो ।
एक महिनाको मात्र औषधी पाउँदा दुर्गम जिल्लाबाट स्वास्थ्य बिमाबापत औषधी लिइरहेका बिरामी समस्यामा परेका थिए । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिरामीको समस्यालाई ध्यानमा राखी तीन महिनालाई पुग्ने औषधी एकै पटक दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)