बसाइँसराइ र ग्रामीण अर्थतन्त्र
rajdhanidaily.com · Mon Jan 27 23:19:14 GMT 2025
नेपालमा बसाइँसराइ तीव्र गतिमा बढिरहेको देखिन्छ । विगतका दिनमा गाउँमा भौतिक एवं सामाजिक पूर्वाधारको कमी भएको भन्दै मानिस सहरतर्फ बसाइँसराइ गर्ने गरेको देखिन्थ्यो । आधुनिक सेवासुविधा खोज्दै सहर बजारमा बसाइँ सर्नेहरूको लर्को नै लागेको थियो । तथापि, पछिल्लो समय गाउँहरूमा बाटोघाटो, स्कुल, बोर्डिङ, स्वास्थ्य संस्था, खानेपानीलगायतका सेवा सुविधाहरू पुग्दापुग्दै पनि बसाइँसराइ भने रोकिएको छैन । युवाहरू शिक्षा, रोजगारी एवं व्यापार व्यवसायका लागि भन्दै गाउँ छोड्ने क्रम बढ्दै जाँदा गाउँमा युवाहरू देखिन छाडेका छन् । वैदेशिक रोजगारका लागि बिदेसिएका परिवारमा समेत वृद्धवृद्धाहरूको मात्र बाहुल्य देखिन्छ । परिवारका अन्य सदस्यहरू सन्तानको शिक्षा, स्वास्थ्यका लागि भनेर सहरमा पसेका छन् । गाउँहरू रित्तिँदै गएका छन् । जनशक्ति अभावका कारण खेतीयोग्य भूमि बाँझो छ । गाउँका अधिकांश घर खाली भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पछिल्लो जनगणनामा ५ लाख बस्नयोग्य घरमा मानिस बसोबास गर्न छाडेका छन् ।
२०७८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये ६६ दशमलव २ प्रतिशत जनसंख्या अर्थात् १ करोड ९२ लाख ९१ हजार ३१ जना नगरपालिकामा बस्ने गरेका छन् । बाँकी ३३ दशमलव ९२ प्रतिशत अर्थात् ९९ लाख १ हजार ४ सय ९ जना गाउँपालिकामा बसोबास गर्ने गरेको बताइएको छ । यो तथ्यले प्रत्येक ३ नेपालीमा २ जना नगरपालिकामा क्षेत्रमा बसोबास गर्ने गरेको देखाउँछ । यो जनगणनाले ग्रामीण र सहरी जनसंख्या भनेर स्पष्ट विभाजन गरेको छैन । तर पनि, स्थानीय तहको पुनःसंरचनाअनुसार महानगर र उपमहानगरसहित २ सय ९३ नगरपालिकामा बस्ने जनसंख्यालाई सहरी क्षेत्रको जनसंख्या र ४ सय ६० गाउँपालिकामा बस्ने जनसंख्यालाई ग्रामीण जनसंख्याको रूपमा व्याख्या गरिएकाले सहर र ग्रामीण क्षेत्र भन्दा फरक नपर्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)