कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा
nepalnews.com · Mon Sep 21 14:21:37 GMT 2026

सुनसरी। बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानका कारण आफ्नो पाँच–सात बिघा जमिन गुमाइसकेका छन् । चार दशकदेखि श्रीलङ्का टप्पुमा बस्दै आएका माझीको अहिले आफ्नै नाममा जमिन समेत छैन । “कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन, अहिले त्रासमा बस्नुपरेको छ,” उनले भने, “असार महिनादेखि नै कोशीले कटान सुरु ग¥यो अहिले पानी परेका बेला कहिले राति उठेर नदीमा ठूलो बाढी पो आएको छ कि भनेर हेर्न जान्छु । बेलुका सुत्न पनि डर लाग्छ, कहिलेकाहीँ जाग्राम नै बस्नुपर्छ ।”
पहिला वन्यजन्तुको समेत त्रास हुने गरेकोमा अहिले बत्ती जडान भएपछि त्यसमा केही कमी आए पनि कोशीको डुबान र कटानको जोखिम भने उस्तै रहेको उनले बताए । “अब यहाँबाट अन्तै सरेर जाऊँ भने पनि जाने ठाउँ छैन, खै के गर्ने,” उनले भने । हरेक वर्ष बर्खा सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटना दोहोरिन्छन् । अत्यधिक वर्षाका कारण ठूलो जनधनको क्षति हुने क्रम पनि जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)