स्वतन्त्रता आन्दोलनमा नेपालीको योगदान
gorkhapatraonline.com · Sat Aug 19 07:26:22 GMT 2023
भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) ले करिब दुई सय वर्षसम्म राज गरे । सन् १८५६ ई. मा सिपाही विद्रोहदेखि सशक्त रूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो । भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीले गरेको विद्रोहलाई सिपाही विद्रोह भनिन्छ । यसलाई दबाउन अङ्ग्रेज सरकारले नेपाली शासकसित सहयोग मागे । सोहीबमोजिम तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको नेतृत्वमा नेपाली फौज लड्न गए । दुवैतर्फका धेरै सिपाहीका, साथै आमजनता भिडन्तमा मारिए । दुवै पक्षबिच महिनौँसम्म भिडन्त हुँदा पनि अङ्ग्रेज शासक पराजित भएनन् ।
भारतीय जनता अङ्ग्रेज शासकविरुद्ध आन्दोलनरत नै थिए । सन् १९२१ मा अफ्रिकाबाट महात्मा गान्धी फर्किएपछि आन्दोलनले तीव्र रूप लियो । उहाँको नेतृत्वमा ‘नमक सत्याग्रह’, विदेशी वस्त्र बहिष्कार आन्दोलन भए तर पञ्जाबको अमृतसरनजिकै जालियानावाला बागमा अङ्ग्रेज फौजले निर्दोष भारतीय जनतामाथि अन्धाधुन्ध गोली चलाई मारे । त्यहाँ रगतको आहाल देखेर महात्मा गान्धी विरक्त भए । त्यसको केही महिनापछि १९४२ अगस्त ८ मा बम्बईमा भारतीय राष्ट्रिय कङ्ग्रेसको सम्मेलन बोलाई त्यसमा अङ्ग्रेज शासकविरुद्ध कडा रूपमा आन्दोलन गर्ने निर्णय गरे । त्यसलाई भारत छोडो आन्दोलनको नाम दिई “गर या मर” भन्ने नारा अघि सारे । त्यही महिनाको १५ तारिखदेखि सम्पूर्ण भारतमा अङ्ग्रेजविरुद्ध सशक्त आन्दोलन सुरु भयो । सरकारी कार्यालय, संस्थानहरू, रेल कम्पनी तथा सम्पूर्ण यातायात क्षेत्र ठप्प पारियो । रेलका लाइन सडक तोडफोड गरी अवरुद्ध पु-याइयो । अङ्ग्रेजका सिपाहीमाथि अन्धाधुन्ध आक्रमण गरियो । भारतभर आन्दोलनले उग्र रूप लियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)