पसलमा आगलागी, पाँच जनाको मृत्यु
ekantipur.com · Sat Feb 12 01:38:48 GMT 2022
दाङ — बिहीबार राति १ बजेतिर एकाएक धूवाँको गन्ध आयो । १६ वर्षीय मसिन बक्स चारतले घरको चौथो तलामा सुतिरेहका थिए । बाहिर निस्के । घरमा आगो लागिरहेको देखे । उनले हतारहतार आमा र बहिनीलाई अर्को घरको छतमा चढाएर सडकमा ओराले । फर्केर भाइलाई लिन गए तर आफैं फर्केनन् । आगो निभाएर प्रहरी चौथो तलामा पुग्दा उनी १४ वर्षीय भाइ हसन बक्सका साथ कोठाबाहिर मृत भेटिए ।
मसिनका बुबा हुसेन बक्स सुर्खेत गएका थिए । हुसेनले घर भाडामा लिएर सञ्चालन गरेको तुलसीपुर–५ तुलसी बोर्डिङ चोकस्थित इरम फुटवेयर पसलमा विद्युत् सट भएर आगलागी भएको थियो । तल्लो तलामा सुरु भएको आगो दोस्रो तलासम्म पुग्यो । दोस्रो तलासम्म जुत्ता–चप्पलको गोदाम थियो । तेस्रो र चौथो तलामा मानिस सुत्ने गरेका थिए । माथिसम्म आगो नपुगे पनि आगोको ताप र धूवाँले गर्दा निसासिएर हताहती भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)