भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सिबिफिनद्वारा दुःख व्यक्त, प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने प्रतिबद्धता
arthasansar.com · Thu Aug 27 11:41:48 GMT 2026

रसुवा स्थित भोटेकोशी नदीमा बुधबार अकस्मात् आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गहिरो दुःख व्यक्त गरेको छ। सिबिफिनले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरेको छ।
बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानव बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ। प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायत विभिन्न व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने सिबिफिनको भनाइ छ। सिबिफिनले विपद्को समयमा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकतामा रहेको जनाएको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्न आवश्यक प्रबन्ध गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)