फिफाको संस्थागत सुधारका लागि इन्फान्टिनो तयार
barnanmedia.com · Tue Sep 22 23:16:25 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायमा संस्थागत सुधारका लागि आफू खुला रहेको बताउनुभएको छ । फिफा काउन्सिलका सदस्यहरू र सबै राष्ट्रिय संघहरूलाई पठाइएको पत्रमा इन्फान्टिनोले स्वतन्त्र प्रक्रियामार्फत् सम्भावित सुधारहरूको सिफारिस गरिने उल्लेख गर्नुभएको बिबिसीले जनाएको छ । आगामी महिना बस्ने काउन्सिलको बैठकअघि इन्फान्टिनोले फिफाको निर्णय प्रक्रियालाई कसरी अझ सुदृढ गर्न सकिन्छ भन्ने विषयमा परामर्शको सुझाव दिनुभएको छ । यसमा अध्यक्षको भूमिकाका साथै प्रमुख रणनीतिक पहलहरूमा पारदर्शिता, सहभागिता र उत्तरदायित्व बलियो बनाउने व्यावहारिक उपायहरू समेटिनेछन् ।
इन्फान्टिनोमाथि उहाँको बहुचर्चित तर अन्ततः रद्द गरिएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ प्रस्तावलाई लिएर दबाब बढ्दै गएको थियो । उक्त प्रस्तावअन्तर्गत विश्वकपलगायत प्रतियोगिताहरूको सेयर निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने योजना थियो, जसले फुटबल जगत्मा ठूलो असन्तोष र विवाद जन्माएको थियो । योजनाअन्तर्गत फिफा प्रतियोगिताहरूको व्यावसायिक र टिकटिङ अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी बनाउने र त्यसको २१ प्रतिशत सेयर निजी लगानी कम्पनीलाई बिक्री गर्ने योजना थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)