विपतमा प्रशासनिक सुशासन
gorkhapatraonline.com · Wed Sep 23 02:21:08 GMT 2026

रसुवामा भोटेकोशी र त्रिशूली नदी प्रणालीसँग सम्बन्धित विपत्ले जीवन, जीविकोपार्जन, पूर्वाधार र स्थानीय अर्थतन्त्रमा पुर्याएको क्षतिले यस वास्तविकतालाई अझ गम्भीर बनाएको छ । यस्ता घटनामा राज्यको क्षमता केवल उद्धार र राहतबाट मापन हुँदैन । पूर्वतयारी, शीघ्र निर्णय, स्रोत परिचालन, सूचना व्यवस्थापन, जोखिम न्यूनीकरण र पुनस्र्थापनाको समग्र क्षमताबाट यसको मूल्याङ्कन हुन्छ । त्यसैले विपत् व्यवस्थापनलाई प्रशासनिक कार्य मात्र नभई नागरिक सुरक्षाको आधारभूत दायित्वका रूपमा लिन आवश्यक छ ।
विपत्को समयमा निष्ठा, अनुशासन र सुशासनको वास्तविक परीक्षा हुन्छ । निष्ठाले सार्वजनिक पदाधिकारीलाई व्यक्तिगत स्वार्थभन्दा नागरिकको जीवन र सार्वजनिक हितलाई प्राथमिकता दिन प्रेरित गर्छ । अनुशासनले उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई समयबद्ध, समन्वित र जिम्मेवार बनाउँछ । सुशासनले स्रोतको पारदर्शी परिचालन, निष्पक्ष राहत वितरण, तथ्यमा आधारित निर्णय र जवाफदेहिता सुनिश्चित गर्छ । सङ्कटका क्षणमा एउटा निर्णयले जीवन बचाउन सक्छ । एउटा ढिलाइले जोखिम बढाउन सक्छ । त्यसैले विपत् व्यवस्थापनमा प्रशासनिक संवेदनशीलता, व्यावसायिक दक्षता र मानवीय करुणाको संयोजन अपरिहार्य हुन्छ । राज्य संयन्त्रले सङ्कटलाई केवल तत्कालीन क्षतिको व्यवस्थापनका रूपमा होइन, भविष्यका जोखिम घटाउने अवसरका रूपमा ग्रहण गर्नु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)