अब युद्धका लागि पनि बैंक बन्ने !
ratopati.com · Wed Sep 23 05:37:53 GMT 2026

विश्व राजनीतिमा अचेल एउटा रोचक फेरबदल देखिन थालेको छ । पहिले युद्ध लड्नुपर्दा हतियार हुनुपर्थ्यो, हतियार बनाउन उद्योग चाहिन्थ्यो र उद्योग चलाउन देशको बजेट भए पुग्थ्यो । तर आजको आधुनिक युद्धको स्वरूप नै बदलिएको छ । अब रक्षा क्षमता बढाउनु भनेको सेनाको मात्र जिम्मेवारी रहेन । यसका लागि ठूलो पूँजी, उच्च प्रविधि, उत्पादन क्षमता, बलियो आपूर्ति शृंखला, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अन्तरिक्ष प्रविधि र निजी क्षेत्रको व्यापक लगानी पनि उत्तिकै आवश्यक भइसकेको छ । यही परिस्थितिलाई ध्यानमा राख्दै क्यानडाले हालै ‘डिफेन्स, सेक्युरिटी एन्ड रेसिलियन्स बैंक’ (डीएसआरबी) स्थापना गर्ने योजना ल्याएको छ ।