शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
barnanmedia.com · Sat Jun 06 22:57:08 GMT 2026

भारतमा चर्चामा रहेको विभिन्न परीक्षा तथा भर्ती प्रक्रियामा पेपर लिक प्रकरणलाई लिएर केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ले शनिबार दिल्लीको जन्तर–मन्तरमा ५ घण्टा लामो प्रदर्शन गरेको छ । पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा भएको उक्त प्रदर्शनमा मन्त्रीलाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिइएको छ । तोकिएको समयभित्र माग पूरा नभए आगामी शनिबार अर्थात् १३ जुनमा पुनः जन्तर–मन्तरमा भेला भएर देशव्यापी प्रदर्शन गर्ने घोषणा पार्टीले गरेको छ ।
प्रदर्शनका लागि अमेरिकाबाट शनिबार बिहानै दिल्ली उत्रिएका अभिजीत दीपके विमानस्थलबाट सिधै जन्तर–मन्तर पुगेका थिए । हातमा बी.आर. अम्बेडकरको आत्मजीवनी र भारतीय संविधानको प्रतिलिपि बोकेर पुगेका उनले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको अवधिमा ५ पटक छोटो सम्बोधन गर्दै शिक्षा मन्त्रीको राजीनामाका लागि दबाब दिएका थिए । साँझ ५ बजेसम्म प्रदर्शन गर्ने अनुमति पाए तापनि दिउँसो ३ः३० बजेतिर दीपकेको स्वास्थ्य अवस्था बिग्रिएपछि कार्यक्रम केही समय अगावै स्थगित गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सामाजिक अभियन्ता सोनम वाङ्गचुकका साथमा प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)