रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव
emountaintv.com · Wed Sep 23 10:57:06 GMT 2026

काठमाडौं ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको छ । बुधवार मन्त्रालयमा सीप तथा रोजगार मेलाको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच रहेको ‘मिसम्याच’ अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको हो । रोजगारदाता र श्रमिकलाई एउटै प्लेटफर्ममा जोड्ने गरी सरकारले ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको उहाँले बताउनु भयो । चालु वर्ष एक लाख व्यक्तिलाई ‘जब म्याचिङ’मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको उहाँको भनाई छ । मन्त्री यादवले विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित रहेको भएपनि अहिले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो । युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले नीतिगत तथा कार्यक्रमगत सुधार अघि बढाइएको उहाँको भनाइ छ । उहाँले २०७१ सालमा राष्ट्रिय रोजगार नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण हुन नसकेको उहाँले बताउनु भयो । सोही कारण आन्तरिक रोजगारीको क्षेत्रमा अपेक्षित काम हुन नसकेको उहाँको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)