अर्को वर्ष भेटौँला मनास्लु !
nepaltvonline.com · Wed Sep 23 11:47:20 GMT 2026
गोरखा – सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पा लेख्नुहुन्छ, “हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ । खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स प्रालिको टोली सकुशल घरतर्फ फर्किंदैछ । अझै पनि हिमालमा रहनुभएका हाम्रा सम्पूर्ण साथीहरू, बलियो बन्नुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो निर्णयमा विश्वास राख्नुहोस् र सकुशल घर फर्कनुहोस् । कुनै पनि शिखरको आरोहण जीवनलाई जोखिममा पार्न लायक हुँदैन । अर्को वर्ष भेटौँला, मनास्लु ।” मनास्लुमा रहेको समिट फोर्स टोलीका माइल्स शेर्पा लेख्नुहुन्छ, “तीव्र हावा र निरन्तरको हिमपातले पर्वतारोहीलाई शिखरमा पुग्ने योजना पुनरावलोकन गर्न र क्याम्प १ र २ बाट आधार शिविरमा फर्कन बाध्य बनाएको छ ।” आउँदै गरेको ढिलो मनसुनी आँधी प्रणालीले पहिले नै हिमपहिरोको जोखिममा रहेको हिमालमा थप हिउँ थुपार्ने शेर्पाको भनाइ छ ।
“महिनौँको तयारीपछि बल्लतल्ल पुगेको शिखरबाट फर्कन यसै सहज हुँदैन, तर हिमाल सधैँ यहीँ रहिरहनेछ । मनास्लु सधैँ यहीँ छ । आउँदो वर्ष पुनः फर्कनुहोला । हामीलाई आफ्नो टोलीप्रति गर्व छ, उहाँहरू कति माथिसम्म पुग्नुभयो भन्नेमा मात्र होइन, परिस्थिति अनुकूल नहुँदा सही निर्णय लिने आँट देखाउनुभएकोमा पनि । सबैभन्दा ठूलो सफलता सधैँ शिखरमा पुग्नु मात्र होइन । कहिलेकाहीँ, सुरक्षित रूपमा घर फर्कनु नै सबैभन्दा ठूलो उपलब्धि हो”, भन्दै उस्तै सभ्य र सालिन भाषा प्रयोग गर्दै हिमालय समिट क्लबले आफ्ना आरोहीलाई पनि घर फर्काएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)