अर्थतन्त्रका अवसर र चुनौती
karobardaily.com · Sun Feb 20 17:33:05 GMT 2022
आर्थिक विकास भनेको त्यो प्रक्रिया हो जसद्वारा एउटा देशको वास्तविक प्रतिव्यक्ति आय लामो समयको अवधिसम्म वृद्धि हुन्छ । आर्थिक विकास भनेको आर्थिक वृद्धिका साथै कुनै पनि मुलुकका जनताको समग्र जीवनस्तरमा आएको सकारात्मक परिवर्तन हो । यो अर्थव्यवस्थाको गुणात्मक वृद्धि हो । नागरिकले आर्थिक लाभ लिन सक्ने र जीवनस्तर उकास्ने अवस्था नै आर्थिक विकास हो । देशको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि, प्रतिव्यक्ति आयमा हुने बढोत्तरी, उत्पादन, उपभोगलगायत समष्टिगत अर्थतन्त्रको परिसूचकमा हुने परिमाणात्मक परिवर्तनलाई आर्थिक वृद्धि वा विकास भनिन्छ । आयमा वृद्धि, रोजगारी तथा क्रयशक्तिको वृद्धिलाई पनि आर्थिक विकासको सूचकका रूपमा लिन सकिन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्रतिव्यक्ति आय हेर्दा कोभिडलगायतका कारण सन् २०१९ देखि घट्दै गएको देखिन्छ । प्रतिव्यक्ति आय सन् २०१९ मा ११ सय ९५ अमेरिकी डलर रहेकोमा सन् २०२० मा ११ सय ५५ र त्यस्तै सन् २०२२ मा ९ सय २० अमेरिकी डलर प्रक्षेपण गरिनुले देशको अर्थतन्त्र संकटोन्मुख देखिन्छ । गरिबी हेर्दा विश्वको १७ औं स्थानमा रहेको नेपाल दक्षिण एसियामा पनि गरिब देशको रूपमा गणना हुन्छ । गरिबीको रेखामुनि रहेको जनसंख्या नेपालमा करिब १७ प्रतिशत छ । ३५ वर्षमुनिका ३ लाख युवा जनशक्ति नै नेपालको आर्थिक विकासको भरोसाको केन्द्र हुन्, जुन स्वदेश तथा विदेशमा विभिन्न कार्यमा संलग्न छन् । तथापि, दैनिक वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढी मात्रामा सोही उमेर समूहका नागरिक हुनुले ब्रेनड्रेनको समस्या पछिल्ला वर्षहरू तीव्र हुँदै गएको छ । एमसीसीको राजनीतिक लाभहानिसँग गाँसिएको हुँदा उचित समाधान नखोजी विवाद बढ्दै गएमा यसले एकातर्फ वैदेशिक सम्बन्धमा चिसोपना ल्याउने निश्चितप्रायः छ भने अर्कातर्फ वैदेशिक सहयोगको भरमा बजेट निर्माण गर्नुपर्ने हाम्रो देशको आर्थिक विकासमा गम्भीर धक्का पुग्ने कुरामा कसैको विमति नरहला । तसर्थ आर्थिक सहयोगको क्षेत्रलाई राजनीतिको मुद्दा बनाइनु राजनेताको असक्षमता हो भन्नेहरूको पनि कमी देखिँदैन ।
कोभिड–१९ र यसका विभिन्न भेरियन्टले विश्वलाई मात्र नभई नेपालको अर्थतन्त्र र यसका सूचकांकहरूमा पनि गम्भीर रूपमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक वर्ष २०७८-०७९ को पाँच महिनाको आर्थिक सूचकसहितको तथ्यांक हेर्दा २०७८ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो । त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ । यसरी समग्र मुद्रास्फीति बढेका कारण उपभोग्य वस्तुको मूल्यमा तीव्र वृद्धि भई गरिब जनताको ढाड सेकिएको अवस्था छ । व्यापारतर्फ हेर्दा आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु. १ सय २ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ तापनि हालको अवस्थालाई हेर्दा आयात तीव्र वृद्धि भई शोधनान्तर स्थिति आयात धान्न नसक्ने स्थितिमा छ भने निर्यातमा उच्च गिरावट देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राको तुलनामा नेपाली मुद्राको क्रयशक्ति थप कमजोर वन्दै गएको छ । जसले शोधनान्तर स्थितिमा थप प्रेसर पर्न गएको देखिन्छ । २०७८ मंसिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.७२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.३६ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७८ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १२१.०९ पुगेको छ । २०७८ असार मसान्तमा उक्त विनिमय दर रु. ११९.०४ रहेको थियो । समग्रमा नेपाली मुद्राको क्रयशक्ति क्रमशः घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)