उच्च सतर्कता अपरिहार्य
gorkhapatraonline.com · Thu Sep 24 02:35:28 GMT 2026

बर्खायामको अन्तिमतिर आउँदा विगतमा पनि मौसमी विपत्का घटना नेपालले भोग्दै आएको हो । असार लाग्दै सुरु हुने मनसुनी वर्षा क्रमशः कमजोर हुँदै असोज मध्यबाट बिदा हुने प्राकृतिक चक्र भए पनि विगत पाँच वर्षयता भने अनौठो भएको छ । भदौ अन्तिम र असोजमा ठुलो वर्षा हुने गरेको छ । नेपालीको सबैभन्दा ठुलो चाड दसैँवरपर नै अघिल्ला दुई वर्षमा ठुलो मौसमी विपत्ति भयो । दुई वर्षअघि २०८१ असोज १२ गते भारी वर्षाले राजधानी काठमाडौँ र वरपर ठुलो क्षति गरेको थियो । गत वर्ष २०८२ असोज १७ पछि तीन दिन नेपालीका निम्ति सकसपूर्ण भए । ठुलो जनधनको क्षति हुन पुग्यो । मौसमी विपत्तिका घटना बढ्ने क्रम घटेको छैन । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी हिमबाढीले महाविपत्ति निम्त्याएको एक महिना नपुग्दै फेरि मौसमी चेतावनी आएको छ । मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अन्डमान सागरआसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएको केही दिनअघि नै जानकारीमा आएको हो । त्यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले पूर्वसचेतना र सतर्कता अपरिहार्य बनेको छ ।
अन्डमान सागरमा विकसित न्यूनचापीय प्रणाली यही असोज ९ गते शुक्रबार नेपाल प्रवेश गर्ने छ । असोज ११ गते आइतबारसम्म नेपाली भूभागमा सक्रिय रहने अनुमान छ । त्यसले देशका विभिन्न स्थानमा ठुलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले स्पष्ट पारेको छ । विभागले मङ्गलबार देशका विभिन्न भूभागको मौसमी चेतावनीसँगै पूर्वतयारीसँगै प्रतिकार्यमा जुट्नुपर्ने अवस्था सिर्जना हुन सक्ने छ । मङ्गलबार विभागले सचित्र गरेको ‘रेड अलर्ट’ लाई सम्बद्ध सबै क्षेत्रले उच्च महत्व दिनुपर्ने छ । विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ । त्यसै गरी मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका कतिपय थोरै स्थानमा पनि ठुलो वर्षाको सम्भावना प्रबल छ । सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो तथा गेग्य्रान बहाबको उच्च जोखिमसँगै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको विभागले औँल्याएको छ । त्यस क्रममा देशका ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन प्रभावित हुने छ । नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने छन् । पूर्वसतर्कताका निम्ति त्यस्तो मौसमी प्रतिकूलतामा यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले मङ्गलबार अनुरोध नै गरेको छ । यसले पूर्वतयारी र सचेतनाका निम्ति काममा जुट्नुपर्ने अवस्था सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)