धान भित्र्याउने चटारो रैथाने बिउ जोगाउने चिन्ता
gorkhapatraonline.com · Thu Sep 24 03:06:08 GMT 2026

असोज लागेसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी क्षेत्रका खेतबारीमा किसानको चहलपहल बढेको छ । धान पाक्न थालेपछि किसानलाई बाली भित्र्याउने, खेत खनजोत गरी गहुँ छर्ने र वर्षभरिका लागि पशु आहार तथा घरायसी प्रयोजनमा प्रयोग हुने ‘गाज्यौ खर’ जम्मा गर्ने चटारो सुरु भएको छ । गाउँघरमा कतै धान काट्ने र सुकाउने काम भइरहेको छ भने कतै मकै थन्क्याउने, खेतबारी खनजोत गर्ने र गहुँको बिउ छर्ने तयारी भइरहेको छ । यही समयमा रोजगारी, अध्ययन तथा अन्य कामका लागि गाउँबाहिर गएका परिवारका सदस्यसमेत घर फर्किन थालेपछि गाउँघरमा थप रौनक देखिएको छ । पाटन नगरपालिका–१ का उद्धव भट्टराई भन्नुहुन्छ, “घरबाहिर रहेका परिवारका सदस्य पनि अब बिस्तारै घर फर्कने भएकाले गाउँमा छुट्टै चहलपहल हुन्छ ।”
यस वर्ष किसानलाई पाकेको धान समयमै भित्र्याउन थप हतारो भएको छ । ठुलो पानी पर्न सक्ने मौसमसम्बन्धी जानकारी पाएपछि धान खेतमै नछोडी चाँडै घर भित्र्याउने तयारीमा किसान जुटेका छन् । धान स्थानीय परिवारको वर्षभरि खाने मुख्य खाद्यान्न भएकाले पाकेको बाली सुरक्षित रूपमा भित्र्याउनु अहिलेको प्राथमिकता बनेको सुर्नया गाउँपालिका–४ का किसान हरि महराले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हाम्रो वर्षभरि खाने अन्न यही हो । यो वर्ष उत्पादन पनि राम्रै भएको छ । पानी पर्नुअघि नै धान भित्राइसक्नुपर्ने अवस्था छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)