गण्डकीमा उच्च सतर्कता
gorkhapatraonline.com · Thu Sep 24 05:02:44 GMT 2026

भारतको अन्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दा असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएपछि सम्भावित विपत्लाई दृष्टिगत गर्दै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाइएको छ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाका आधारमा गण्डकी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले पूर्वसतर्कताको तयारीसहित विपत् टोलीलाई तयारी अवस्थामा राख्नेसम्मका तयारी गरेका हुन् ।
असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गण्डकी प्रदेशमा बुधबार र बिहीबार जोखिम कम भए पनि त्यसपछिका दिनमा सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारदेखि आइतबारसम्म अति भारी वर्षा हुन सक्ने देखिएको छ । हिमाली क्षेत्रमा हिमपात हुन सक्छ, सोमबारबाट मौसम क्रमशः सुधार हुने देखिन्छ ।” बुधबार भएको गण्डकी प्रदेश सुरक्षा समन्वयात्मक बैठकले प्रदेशका ११ वटै जिल्लाका सम्भावित सुरक्षा जोखिम भएका क्षेत्रको पहिचान गरी सुरक्षा गस्ती र निगरानी बढाउने र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न प्रदेशस्तरका सबै सुरक्षा निकाय पूर्ण रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)