धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान
gorkhapatraonline.com · Thu Sep 24 05:01:26 GMT 2026

जनसहभागितामा आधारित जलाधार व्यवस्थापनको अभ्यासका लागि धनकुटा नगरपालिकाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सञ्चालित निबुवा–ताँखुवा जलाधार व्यवस्थापनको सहभागितामूलक अभ्यासलाई अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था (ओआइडिपी) ले विशेष सम्मान प्रदान गरेको हो । स्थानीय तहमा नागरिक सहभागिताको उत्कृष्ट अभ्यासलाई सम्मान गर्ने २० औँ ओआइडिपी अवार्ड अन्तर्गत धनकुटा नगरपालिकालाई ‘पारिस्थितिकीय रूपान्तरण तथा वातावरण विधामा विशेष सम्मान’ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
पोल्यान्डको क्राकोभस्थित आइसिई क्राकोभ कंग्रेस सेन्टरमा मङ्गलबार आयोजित अवार्ड समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गर्नुभयो । सम्मान ग्रहण गर्दै नगरप्रमुख तामाङले प्राप्त सम्मान धनकुटा नगरपालिकाको मात्र नभई निबुवा–ताँखुवा क्षेत्रका समुदाय, स्थानीय नागरिक तथा जलाधार संरक्षणमा सहभागी सरोकारवाला निकायको योगदानको सम्मान भएको बताउनुभयो । यीलगायत यस्ता सम्मानले धनकुटेली जनतालाई ऊर्जा थप्ने उहाँको भनाइ छ । जलवायु तथा वातावरणीय चुनौती समाधान गर्न स्थानीय समुदायलाई योजनाको लाभग्राहीका रूपमा मात्र नभई निर्णय, योजना निर्माण र कार्यान्वयनका सव्रिmय साझेदार बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । धनकुटा नगरपालिकाका लागि प्राप्त अन्तर्राष्ट्रिय सम्मानले स्थानीय सहभागिता, वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा आधारित स्थानीय शासनको अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसरसमेत दिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)