प्रचण्ड भन्छन– अहिले पनि निर्णायक भूमिका हामी नै छौ
ratopati.com
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिको कमाण्ड माओवादीले गरेको दाबी गरेका छन् । गणतन्त्र स्थापनापछि देखि पछिल्लो राजनीतिक परिस्थितिलाई समेत मूल्याङकन गर्दै प्रचण्डले सो दाबी गरेका हुन् । ‘अहिले देश जतिपनि एजेण्डामा चलिरहेको छ, त्यो माओवादीले गरेको त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएको हो,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको प्रशिक्षण भेलामा उनले भने,‘त्यो हिसाबले अझैपनि देशको राजनीतिलाई कुन दिशातर्फ मोड्ने, कता लैजाने भन्ने निर्णायक भूमिका हाम्रै हातमा छ ।’
शुक्रबार बिहान नौ बजेतिर सुर्खेत विमानस्थल आइपुगेका उनले त्यहाँ पत्रकारसँग छोटो कुराकानीमा एमसीसी र वर्तमान गठबन्धनका बारेमा बोलेका थिए । ‘एमसीसीमा केही त्रुटिहरु थिए । हामीले व्याख्यात्मक टिप्पणीका माध्यमबाट भएपनि सच्याएर पास गरायौँ । जसले गर्दा देश दुर्घटनाबाट बच्यो,’ उनले भने,‘ अब गठबन्धनमा समस्या छैन् । आगामी चुनावसम्मै गठबन्धन जान्छ ।’ तर दिउँसो पार्टी प्रशिक्षण कार्यक्रममा भने उनले गठबन्धनको खासै भर नभएको भन्दै नेता, कार्यकर्ताहरूलाई आफ्नै शक्ति परिचालन गरेर नै चुनाव जित्न अठोट गर्न आग्रह गरे । गठबन्धनको कुनै टुंगो छैन । माओवादी पार्टी चुनाव एक्लै लड्न सक्ने हैसियत नभएको पार्टी पनि होइन्,’ उनले भने, ‘तपाइँहरु ढुक्क भएर आफ्नै शक्तिमा चुनाव जित्ने अठोटका साथ लाग्नुहोस् !’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)