प्रधानमन्त्रीको भरतपुर बास
ekantipur.com · Thu May 05 00:47:25 GMT 2022
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर पुगेका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेललाई निस्क्रिय बनाउने र सिंगो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका हुन् । बिहीबार संयुक्त सभालाई सम्बोधन गरेर उनी मात्र फर्कनेछन् ।
कांग्रेसका पुराना नेता पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि दाहालपुत्रीको चुनावी यात्रा जटिल बनेको छ । पौडेलको उम्मेदवारी नै फिर्ता गराउन देउवाले गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठलाई भरतपुर पठाएका थिए । तर अन्तिम दिन पनि उम्मेदवारी फिर्ता नभएपछि वैशाख १७ मा दुवै मन्त्री फर्किएका थिए । त्यस्तै उम्मेदवारी निष्क्रिय बनाउन देउवाले नेता शंकर भण्डारीलाई पनि भरतपुर पठाएका थिए । तर पनि सार्थक परिणाम नआएपछि देउवा आफैंले भरतपुरमा आवासीय कार्यक्रम मिलाएका हुन् । विराटनगरबाट नेपाली सेनाको जहाज चढेर साँझ पौने ६ बजे भरतपुर विमानस्थल ओर्लेका उनी त्यहाँबाट निजी गाडीमा भरतपुरको सिराइचुली होटल गएका थिए । उक्त होटलमा राज्यमन्त्री उमेश श्रेष्ठको लगानी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)