आयात रोकिएपछि ठूला उद्योगमा विद्युत् कटौती
nayapatrikadaily.com · Wed Jan 11 00:32:00 GMT 2023
भारतको बिहार प्रदेशबाट हुने विद्युत् आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु गरेको हो । बिहान सात बजेदेखि ११ बजेसम्म (चार घन्टा) र साँझ पाँच बजेदेखि १० बजेसम्म पाँच घन्टा गरी दैनिक नौ घन्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको हो । प्राधिकरणले विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, पोखरालगायतका स्थानका उद्योगहरूलाई पिक आवरमा विद्युत् प्रयोग नगर्न मौखिक निर्देशन दिएको हो ।
प्राधिकरणले पावर एक्सचेन्ज सम्झौता गरेर फिक्स दरमा भारतको बिहार प्रदेशबाट विद्युत् खरिद गर्दै आएको छ । पछिल्लो समय बिहार प्रदेशबाट दैनिक २५–२६ सय मेगावाट घन्टा विद्युत् आयात भइरहेको थियो । तर, बिहार प्रदेशमा भएको एक हजार तीन सय ३० मेगावाट क्षमताको एक पावर प्लान्ट प्राविधिक कारणले बन्द भयो । बिहारबाट आउने विद्युत् रोकिएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)