मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गुप्तचर संयन्त्र बलियो बन्दा 'सोचेजस्तो' भएन भारतको कक्रोच आन्दोलन

corporatenepal.com · Sun Jun 07 02:48:48 GMT 2026

नयाँ दिल्ली । केही दिनअघि सामाजिक सञ्जाल तथा इन्स्टाग्राममा ककरोच जनता पार्टीको सुरुवातलाई लिएर निकै चर्चा भयो । पार्टी सार्वजनिक भएको केही घण्टामै यसका समर्थकहरू अत्यन्त उत्साहित देखिए । सामाजिक सञ्जालमा लाखौँ अनुयायी रहेको आधारमा उनीहरूले ‘जेनेरेशन–जेड’ को ऊर्जा परिचालन गर्दै भारतमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरेका थिए । यसमा उनीहरूको आत्मविश्वास गर्ने काम श्रीलंका, नेपाल र बंगलादेशमा भएका ठूलाठूला उथलपुथलले गरेको थियो ।

सामाजिक सञ्जालमा प्राप्त लोकप्रियताबाट उत्साहित भएका पार्टीका संस्थापक अभिजीत दिपके हालैको एनईईटी परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई आधार बनाएर केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानविरुद्ध प्रदर्शन गर्न अमेरिकाबाट भारत फर्किने निर्णयमा पुगेका थिए। उक्त प्रदर्शनको उद्देश्य जेनजी युवाहरूलाई सत्ताको कमजोरी देखाएर सत्तापलट गर्नु नै थियो । यसबारेमा संस्थापक दिपकेले पटकपटक नेपाल र बंगलादेशमा जस्तै उथलपुथल गर्ने अभिव्यक्तिले पनि यो विषय स्पष्ट हुने गर्छ ।

Advertisement

के थियो योजना ?

गुप्तचर निकायलाई हवाला दिँदै केही भारतीय सञ्चारमाध्यमहरूले तयार पारेको सामग्रीअनुसार पार्लियामेन्ट स्ट्रिटमा आन्दोलन गरेर नेपालमा जस्तै आन्दोलनको आँधिवेहरी ल्याउने योजना उनीहरूको थियो । त्यसका लागि कानुनअनुसार सातदिन पहिले अनुमति लिनुपर्ने जन्तरमन्तरमा प्रदर्शनका लागि सोही दिन मात्रै अनुमति लिन जाने योजना उनीहरुको थियो । प्रदर्शनका लागि सोही दिन प्रहरीले अनुमति नदिएपछि भीड आक्रोशित हुने र पार्लियामेन्ट स्ट्रिटमा नै आन्दोलन गर्ने योजना रहेको थिय ।

केही सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा संस्थापक दिपकेले सोही दिन प्रहरीसँग अनुमति लिनुको कारण स्पष्टसँग बताएका थिएनन् । सात दिनअघि प्रदर्शनका लागि अनुमति लिनुपर्ने नियम किन पालना नगरेको ? भन्ने प्रश्नमा उनले टालटुले जवाफ दिँदै यदि नियम पालना नगरेको अवस्थामा पक्राउ गरिए पक्राउ पर्न तयार रहेको बताएका थिए । यसले पनि उनीहरूले सरकारले अनुमति नदिएको कारण देखाएर पार्लियामेन्ट स्ट्रिटमै प्रदर्शन गर्न चाहेको विश्लेषण भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्।

तर यो योजनाबारे जानकार रहेको गुप्तचरको रिपोर्टको आधारमा प्रहरीले प्रदर्शनको एक घण्टाअघि नै प्रदर्शनका लागि अनुमति दियो । बरू अनुमति नै नलिँदै प्रहरीले भारी मात्रामा सुरक्षा फौज जम्मा गरेर राखेको थियो ।

सेन्टिमेन्टको लागि एयरपोर्टमै पक्राउ हुन चाहन्थे दिपके

पार्टीले सुरुमा संस्थापक दिपकेलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरूलाई बोलाएको थियो । तर उच्च सुरक्षा चेकजाँचका कारण यो सफल हुन सकेको थिएन । संयोजक दिपकेले अमेरिकामा रहँदै भारत जानेबित्तिकै आफू पक्राउ पर्न सक्ने बताएका थिए । उनी आफू त्यसका लागि तयार रहेको पनि बताएका थिए । उनलाई पक्राउ गर्दा पार्टीप्रति जनसमर्थन झनै बढ्ने सम्भावना थियो । तर प्रहरीले उनलाई कुनै अवरोधविना नै प्रदर्शनस्थलसम्म जान दियो ।

प्रदर्शनअघि केही सञ्चारमाध्यमहरूले सीजेपीको उद्देश्य युवाहरूलाई संगठित गरी सरकारविरुद्ध दबाब सिर्जना गर्नु रहेको बताएका छन् । यद्यपि, अन्य केही रिपोर्टहरूमा प्रदर्शनको क्रममा तनावपूर्ण अवस्था सिर्जना हुन सक्ने आशंकाका आधारमा सुरक्षा निकायहरूले विशेष निगरानी र तयारी गरेको उल्लेख गरिएको छ।

यसैबीच, केही सञ्चारमाध्यमहरूमा सीजेपीले मूल रूपमा पार्लियामेन्ट स्ट्रिट क्षेत्रमा गतिविधि केन्द्रित गर्ने योजना बनाएको दाबी गरिएको छ। तर सीजेपी पक्षबाट यस्ता आरोपहरूबारे औपचारिक प्रतिक्रिया सार्वजनिक रूपमा स्पष्ट रूपमा उपलब्ध छैन । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोही दिन अनुमति माग्दा अनुमति नपाइनेमा उनीहरू स्पष्ट थिए । अनुमति नपाइएपछि प्रहरी कार्यालय वरिपरि नै प्रदर्शन गर्ने र पार्लियामेन्ट स्ट्रिटलाई नै प्रदर्शनस्थल बनाउने उनीहरूको रणनीति रहेको थियो । जुन नेपालको जेनजी आन्दोलनसँग मिल्दोजुल्दो रहेको थियो । गुप्तचर रिपोर्टहरूले पनि यदि पार्लियामेन्ट स्ट्रिटमा प्रदर्शन भयो भने यसमा घुसपेठियाहरू छिर्ने सम्भावना धेरै देखाएको थियो । एकातिर जन्तरमन्तरमा प्रदर्शन गर्न नदिने हो भने आम मानिसमा आक्रोश बढ्न सक्ने र पार्लियामेन्ट स्ट्रिट पनि असुरक्षित बन्ने देखेर पनि प्रहरीले सोही दिन निवेदन दिँदा पनि अनुमति दिएको थियो ।

सीजेपीका संस्थापक अभिजीत दिपके दिल्ली आइपुग्नासाथ दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न आवश्यक अनुमति उपलब्ध गराएको बताइएको छ । त्यसपछि उनी र उनका समर्थकहरूलाई प्रदर्शनस्थलतर्फ जान निर्देशन दिइएको थियो । प्रदर्शनका क्रममा जन्तर–मन्तर क्षेत्रमा पर्याप्त प्रहरी परिचालन गरिएको थियो। जन्तरमन्तरबाट बाहिर निस्किएर प्रदर्शन गर्नका लागि प्रहरीले ब्यारिगेड राखेर रोकेको थियो । सुरक्षा व्यवस्थाका लागि ड्रोन निगरानी तथा अन्य प्राविधिक उपायहरू पनि अपनाइएको बताइएको छ । दिल्ली प्रहरीले शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको र त्यहीअनुसार सुरक्षा रणनीति अपनाएको बताएको छ ।

प्रदर्शन अपेक्षाअनुसार ठूलो संख्यामा विस्तार हुन नसकेको केही विश्लेषणहरूमा उल्लेख गरिएको छ। यसको कारणबारे विभिन्न मतहरू रहेका छन्। कतिपयले सुरक्षा व्यवस्थालाई कारण मानेका छन् भने अन्यले सामाजिक सञ्जालमा देखिने समर्थन र भौतिक उपस्थितिबीचको अन्तरलाई जिम्मेवार ठहर गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेका नयाँ राजनीतिक वा सामाजिक समूहहरूको वास्तविक जनसमर्थन र प्रभावको मूल्याङ्कन समयसँगै स्पष्ट हुँदै जाने विषय हो। सीजेपीको हालको गतिविधिलाई पनि सोही सन्दर्भमा हेरिएको छ।

जन्तरमन्तरमा भएको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ र कुनै ठूलो अप्रिय घटना सार्वजनिकरूपमा रिपोर्ट नभएको बताइएको छ । यस घटनाले सामाजिक सञ्जालबाट उदाएका नयाँ राजनीतिक समूहहरू, युवाहरूको सहभागिता तथा सार्वजनिक प्रदर्शन व्यवस्थापनसम्बन्धी विषयमा थप बहसको अवसर सिर्जना गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय