भत्कियो कोतगढी, मेटिंदै बहादुरीको निशानी
annapurnapost.com · Sun Feb 06 06:39:00 GMT 2022
हिक्मतबहादुर नेपाली दैलेख : ढुंगैढुंगाले निर्माण गरिएको दैलेखको कोतगढी पाँच पाण्डवले निर्माण गरेको मानिन्छ। यसलाई प्रयोग गरेर विभिन्न कालखण्डमा युद्ध भए। द्वन्द्वको समयमा पनि नेपाली सेनाले यसकै सहारा लियो। सुरक्षाको बन्दोबस्त मिलाउने र हातहतियार तैनाथ राख्न उत्तम स्थानका रूपमा इतिहासदेखि वर्तमानसम्म यसले काँध थाप्यो। तर, ऐतिहासिकता जोगाउन स्थानीयलाई हम्मेहम्मे परेको छ। पूर्खाको बहादुरीको साक्षी मेटाउने चिन्ता छ। ‘गढीभित्र केही हेर्नलायक संरचना थिए, ती भत्काइए। अहिले स्वरूप फेरिएको छ। पुरानै शैली र स्वरूपमा मर्मत तथा जीर्णोद्धार गरिनुपर्छ। पुरानो सम्पदा र स्वरूपलाई मास्नु हुँदैन्,’ नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजाती भन्छन्।
झन्डै दुई सय मिटरको परिधिमा गढी फैलिएको छ। पुतली आकारमा निर्माण भएको यसमा १३ वटा प्वाल र त्यति नै चुच्चा छन्। न्यूनतम एक क्वीन्टलदेखि २० टनसम्मका ढुंगाको प्रयोगबाट बनेको छ। अवलोकन गर्ने पर्यटकको संख्या दैनिक बढ्दैछ। तर, यस्तै महत्व बढ्दै गएको समयमा मर्मतको नाममा ऐतिहासिक संरचना भत्काउन सुरु भए। प्राचीन गढीको स्वरूप बिगारियो। संघ र प्रदेश सरकारले पनि यसको ऐतिहासिकता बुझेन। खर्च गरेर संरक्षणको साटो स्वरूप नै परिवर्तनको काम भएको आरोप स्थानीय नागरिकको छ। पुरातत्व विभागले पनि नियमविपरीत कार्य भनेको छ। अहिले ऐतिहासिक ढुंगा यत्रतत्र छरिएका छन्। बालुवा र सिमेन्टको संरचना निर्माण सुरु भएको छ। कोतगढी प्रवेशद्वारको सिँढी भत्काइएको छ। जीर्णोद्वारको काम गरिएको भनिए पनि पुरानो स्वरूप बिगारिएको छ। पुरातत्व विभागको नजर भत्काइएपछि परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)