मुलुकको अर्थतन्त्र सबै मिलेर सुधार गर्ने हो, एकअर्कालाई गाली नगरौँ : चन्द्र ढकाल
baahrakhari.com · Mon Apr 11 17:49:00 GMT 2022
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मिलेर नै सुधार हुने बताएका छन् । महासंघको वार्षिक साधारण सभामा उनले मुलुकको अर्थतन्त्र श्रीलंकको जस्तो पनि नहुने र सबै मिलेर सुधार गर्न सकिने बताए ।
“चालु आर्थिक बर्षको शुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको थियो । अत्यधिक मागलाई नेपालको वित्तीय क्षेत्रले धेरै समय थेग्न सकेन । स्वाभाविक रूपमा कर्जा प्रवाह बढ्यो । माग हुँदा आयात बढ्नु पनि स्वाभाविक थियो । रेमिट्यान्स आप्रवाहमा केही कमी आयो । यसले भुक्तानी सन्तुलनमा चाप परेको छ । विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन । रकम आप्रवाह पनि त हुन्छ,” उनले भने, “त्यसैले श्रीलंका हुन्छ भनेर आँत्तिनुपर्दैन । सुधार हुुन्छ, हामी सबै मिलेर सुधार गर्ने हो । एक अर्कालाई गाली नगरौँ । महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्य लगायत सम्पूर्ण सदस्यहरू हामी जिम्मेवार नागरिक हौँ । हाम्रो भनाइको अर्थ रहन्छ । सबै मिलेर संकट समाधानका लागि पहल गर्नुुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)