‘हरित काव्य गोष्ठी-२०८३’: कवितामार्फत पर्यावरणीय चेतना जागरण
nagariknews.nagariknetwork.com · Sun Jun 07 03:09:29 GMT 2026

विश्व वातावरण दिवसको अवसरमा राजधानीमा आयोजित ‘हरित काव्य गोष्ठी–२०८३’ साहित्य, वातावरण र सामाजिक चेतनाको सशक्त संगमका रूपमा सम्पन्न भएको छ। वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक, रातोघर तथा कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शनिबार कोटेश्वर–जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम भएको हो।
क्याम्पस प्रमुख डा. प्रकाश पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा वर्तमान कविता समूहका विश्व सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्दै समूहले सञ्चालन गर्दै आएका साहित्यिक तथा सिर्जनात्मक गतिविधिबारे जानकारी गराए।
उनले साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीबोध जगाउन साहित्यको महत्वपूर्ण भूमिका रहने बताए।
गोष्ठीमा साहित्यकार ज्ञानुवाकर पौडेलले ‘अब यो देशको उपचार हुनुपर्छ’, कृष्ण बाउसेले ‘लोकतन्त्रको हरियो मुखुण्डो’, अभय श्रेष्ठले ‘हिमालमा हिउँ छैन’, रामगोपाल आशुतोषले ‘पृथ्वीको शिरमाथि राखिएको हात’, यशोदा अधिकारीले‘ हरियो सपनाको डाम’, ठाकुर बेलबासेले ‘एउटा बस्तीको कथा’, मणि लोहोनीले ‘मृत्युको पहिरो’, सुधीर ख्वाबीले ‘पर्यावरण मन’ तथा रजनिमिला रजनीले शीर्षकविहीन कविता प्रस्तुत गरेका थिए।
त्यसैगरी हरिप्रसाद सिलवालले ‘धर्तीको प्रियता’, भोजराज न्यौपानेले ‘चराहरूको विवेक’, भोजराज रेग्मी ‘मुखाले’ले ‘साटो हराएको सूचना’, एकता केसीले ‘पर्यावरण’, किसन पौडेलले ‘दोहन’, डी.बी. बर्तौलाले ‘बुङदल झरना’, सुरेन्द्र सुवेदीले ‘पर्यावरण’, डा. हिमलाल श्रेष्ठले ‘वनको सुवासः पृथ्वीको गीत’, अमित घिमिरेले ‘मान्छे हामी बन्नुपर्छ’, प्रज्वल अधिकारीले ‘एकदिन’, राजबाबु पहाडीले ‘अन्तिम मौका’, रमी प्रियाले ‘भोक’, धीरकुमार श्रेष्ठले ‘ओ महाशय!’, विश्व सिग्देलले ‘वृक्षरेखा पूर्णविराम थियो’, चन्द्रबहादुर लामाले ‘हरियो बिर्सनै सक्दिन’, भवानी खतिवडाले ‘मान्छे र आशा’, चैतन्य अधिकारीले ‘छोराको सपना’ तथा सन्तोष घर्ती मगरले‘शून्य गाउँ र सहर’ शीर्षकका कविता वाचन गरेका थिए।
कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा, शकुन्तला जोशी र दीपक समीरले समेत पर्यावरणीय चेतनाले ओतप्रोत कविता प्रस्तुत गरेका थिए भने केशव भट्टराईले सुमधुर गजल प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
शब्दाङ्कुर मासिकका तर्फबाट धीरकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागी साहित्यकार, स्रष्टा तथा उपस्थित सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरे।
कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज अधिकारी तथा प्राध्यापक संघका सभापति सुरेश पोखरेलले कविता वाचन गर्ने सम्पूर्ण साहित्यकारहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
कार्यक्रमको मध्यान्तरमा चार जना स्रष्टाका प्रकाशोन्मुख कृतिहरूको आवरण अनावरण गरिएको थियो। अनावरण गरिएका कृतिहरूमा शैलेन्द्र अधिकारीको ‘तेजस्’, रमी प्रियाको ‘फुल्नुअघि नानीचा स्वां’, प्रज्वल अधिकारीको ‘अस्तित्वको ब्रह्माण्ड’ तथा दिवाकर भट्टको ‘द घोस्टराइटर’ छन्।
चन्द्रबहादुर लामा र केशव भट्टराईले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, शिक्षाविद्, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले ‘हरित काव्य गोष्ठी–२०८३’ ले विश्व वातावरण दिवसलाई सार्थक बनाउनुका साथै वातावरणीय चेतना, प्रकृतिप्रतिको उत्तरदायित्व र साहित्यिक सिर्जनशीलताको सशक्त सन्देश समाजमा प्रवाह गरेको बताएका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)