मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटका लागि भौतिकले पूर्वाधार मन्त्रालयले पठायो पुरानै कार्यक्रम

ekantipur.com · Wed May 26 00:56:13 GMT 2021

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षको बजेटमा प्राय पुरानै कार्यक्रमलाई निरन्तरता दिने भएको छ । मन्त्रालयले पुरानै आयोजनालाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्ष २०७८/७९ का लागि डेढ खर्ब रुपैयाँको बजेट प्रस्ताव गरिसकेको छ । यसमा नयाँ कार्यक्रम खासै नरहेको मन्त्रालयले जनाएको छ ।

यही जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याउने तयारी भइरहेको समयमा राष्ट्रिय योजना आयोगले दिएको सीमा (सिलिङ) अनुसार नै प्रस्ताव पठाइसकिएको मन्त्रालयका प्रवक्ता दीपकुमार भट्टराईले बताए । आयोगले दिएको सीमा १ खर्ब ४७ अर्ब ६४ करोड ४ लाख रुपैयाँ छ । ‘जुन सिलिङ दिइएको थियो, त्यसअन्तर्गत रहेर हामीले कार्यक्रम प्रस्ताव गरी पठाएका छौं,’ उनले भने, ‘स्वीकृत हुने तयारीमा छ, अर्थ मन्त्रालयलले यसलाई फाइनल गर्दै छ ।’ यसमध्ये ७६ प्रतिशत कुल बजेटमा इयर मार्किङ (सुनिश्चित गरिएको बजेट) गरेको पठाइएको थियो । ‘यो भनेको तोकिएका आयोजनामा घटाउन र बढाउन नपाइने बजेट हो,’ उनले भने, ‘जसमा १८ वटा कार्यक्रममा कुल बजेटको ७६ प्रतिशत निश्चित गरेर पठाइएको थियो ।’ यसमा राष्ट्रिय गौरवका आयोजना, सडक, रेलवेलगायत रहेको उनको भनाइ छ । ‘बाँकी २४ प्रतिशत बजेटले ५१ वटा कार्यक्रम हेर्नुपर्नेछ, जुन रकम भनेको ३५ अर्ब रुपैयाँ मात्र हो,’ उनले भने, ‘यसअन्तर्गत पनि महत्त्वपूर्ण कार्यक्रम छन्, त्यसलाई आवश्यकता हुँदाहुँदै पनि पर्याप्त बजेट छुट्याउन सक्ने अवस्था भएन ।’ बजेटमा नयाँ कार्यक्रम त्यति नरहेको भट्टराईले बताए । ‘पुरानै कार्यक्रमभित्र रहेर बजेट प्रस्ताव गरिएको छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)