जनताको जीवनस्तर उठाउन कृषि र पर्यटनलाई जोडेर अगाडि बढ्न आवश्यक छ : शंकर पोखरेल
nepalsamaya.com · Sat Aug 16 15:30:54 GMT 2025
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताएका छन्।
नेपाल बौद्धिक परिषद्द्वारा आज आयोजित ‘सांस्कृतिक कूटनीति: नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रियामा उनले नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने बताए।
महासचिव पोखरेलले भने, “विकासको जग र मूलध्येय भनेको जनताको जीवनस्तर उठाउने नै हो, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्ने कुरा गरेर मात्रै हुँदैन। सम्पदालाई जीवनस्तर उठाउनका लागि जोड्न आवश्यक छ।” उनले कुनै पनि ठाउँको विकास सोही क्षेत्र बुझेका मानिस र तिनकै सक्रियताबाट मात्र सम्भव हुने भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह गरे। महासचिव पोखरेलले पर्यटकलाई घुम्ने र रमाउने वातावरण बनाउन, पर्यटकको बसाइँ लम्ब्याउन सके मात्र पर्यटन र अर्थतन्त्रको विकास हुने भएकाले सोहीअनुसार नीति आवश्यक रहेकामा जोड दिए।
राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उनको धारणा छ। महासचिव पोखरेलले धर्म र संस्कृतिका ज्ञातालाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने बताए। “सांस्कृतिक कूटनीतिको कुरा गर्दा हामीले बुद्ध दर्शनलाई उपयोग गर्ने विषयबारे पनि सोच्नुपर्छ। यसलाई संसारले शान्तिको प्रतीकका रूपमा लिने गरेकाले हामीले लाभ लिन सक्नुपर्छ”, उनले भने “प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्न सक्छ। अब यसमा पनि ध्यान पुर्याउनुपर्छ।”
नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले सांस्कृतिक माध्यमबाट नेपालले विश्वमा कूटनीतिक क्षेत्रमा आफ्नो पहलकदमी लिनुपर्ने बताए।