‘नयाँ पुस्ता अनुकूल आर्थिक सुधारका लागि निजी क्षेत्रसँग सहकार्य’
ekantipur.com · Wed May 29 23:55:17 UTC 2024

काठमाडौँ — अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ चरणको सुधार योजना’मा युवापुस्तालाई देशभित्र टिकाउन ‘ग्लोबल आईटी हब’जस्तो महत्त्वाकांक्षी योजना अघि सारिएको बताएका छन् । आम जनता, व्यवसायी, उद्यमीसँगै युवापुस्तालाई देशभित्र अवसर रहेको प्रत्याभूति दिलाउने गरी बजेट व्यवस्थापनमा जोड दिइएको उनको भनाइ छ ।
०८१/८२ को बजेटसम्बन्धी बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले युवाको निराशा चिर्न ज्ञान पार्क, वर्क स्टेसन, आईटी हबजस्ता संरचना तत्काल निर्माण गरिने बताए । ‘बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आईटी हबका लागि तयारी गरिनेछ भने सातै प्रदेशमा सम्भाव्यता अध्ययन अगाडि बढाइनेछ,’ उनले भने, ‘काठमाडौंलाई केन्द्र बनाएर आईटी क्षेत्रको प्रवर्द्धन गरिनेछ ।’ आईटी हब, ज्ञान पार्क र वर्क स्टेसन सञ्चालनका लागि चाहिने इन्टरनेट, विद्युत्, स्विचजस्ता सेवा सरकारले नै सुनिश्चित गरिदिने मन्त्री पुनको भनाइ छ । उनले वर्क स्टेसनमा आईटी जनशक्तिलाई तीन वर्षसम्म निःशुल्क स्थान उपलब्ध गराउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)