अमेरिका–इरान वार्तामा संलग्न ट्रम्पका दूतहरू सुटुक्क ‘ओक रिज’ नेसनल ल्याब किन पुगे ?
baahrakhari.com · Sun Jun 07 08:58:07 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरले अमेरिकाको राज्य टेनेसीस्थित ‘ओक रिज’मा रहेको एक राष्ट्रिय प्रयोगशालाको अप्रत्याशित भ्रमण गरेका छन् । योसँगै अमेरिका र इरानबीच जारी वार्ता निर्णायक मोडमा पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।
आणविक वार्तामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्राविधिक विज्ञसँग परामर्श गर्न उनीहरू त्यहाँ पुगेका हुन् । महिनौँ लामो वार्तापछि पनि युद्ध अन्त्यसम्बन्धी समझदारीपत्रका विभिन्न बुँदामा अमेरिका र इरानबीच मतभेद कायमै छ ।
विशेष गरी इरानको सम्वर्धित युरेनियमका विषयमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन । ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने अडान बारम्बार दोहोर्याउँदै आएका छन् । इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका निम्ति मात्र रहेको जिकिर गर्दै आएको छ ।
दुई देशबीच वार्ता अन्तिम चरणमा पुगेको भए पनि सम्झौता हुने/नहुने अझै स्पष्ट छैन । प्रारम्भिक सम्झौता भएमा आणविक वार्ताको प्राविधिक पक्षमा काम गर्न करिब १०० विज्ञको टोली गठन गरिएको दुई अमेरिकी अधिकारीको भनाइ छ ।
विटकफ र कुश्नरले भ्रमण गरेका उक्त केन्द्रमा युरेनियम प्रशोधन तथा सेन्ट्रिफ्युज प्रविधिका क्षेत्रमा देशकै अग्रणी विज्ञ कार्यरत छन् ।
दुई देशबीचको वार्ता दोस्रो चरणमा प्रवेश गरे ‘ओक रिज’का विज्ञको टोलीले इरानको आणविक सामग्रीको व्यवस्थापन, युरेनियम सम्वर्धन कार्यक्रमलाई थप सीमित गर्ने उपाय तथा सम्झौता कार्यान्वयनको प्रमाणीकरणसम्बन्धी योजना तयार गर्नुपर्नेछ ।
#प्रयोगशाला
#डोनाल्ड ट्रम्प
#अमेरिका–इरान
#ओक रिज
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प