कोरला नाका सञ्चालनसँगै बढ्यो रोजगारी
nepalnews.com · Tue Dec 23 12:04:53 GMT 2025

मुस्ताङ। नेपाल-चीन उत्तरी कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका बासिन्दाले रोजगारी पाएका छन्। कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।
यो नाका २७ कात्तिक २०८० देखि खुला गरिएको थियो। त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए। माथिल्लो मुस्ताङका नागरिकका लागि मात्रै नाका खुला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गका रुपमा गत ३० भदौमा पूर्ण रुपमा खुला गरेको हो।
लोमान्थाङ २‚ किम्लिङका लिन्डुप गुरुङ कोरला नाकामा पाल टाँगेर व्यापार गरिरहेका छन्। नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए। यहाँ पाल टाँगेर व्यापार गर्ने करिव ८०/९० जनामध्ये अहिले धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन्।
यो नाका समुद्री सतहदेखि ४‚६१० मिटरको उचाइमा अवस्थित छ। नाकामा चिसोका कारण पर्यटकीय रौनक घटे पनि नाका बन्द नहुने जनाइएको छ। नाकामा व्यापार गर्नेहरुले आन्तरिक रुपमा व्यापार-व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन्। पर्यटकलाई चिनियाँ उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ। पाल टाँगेर व्यापार गर्नेका लागि एक जिपबराबर दुई व्यापारीले व्यापार गर्न पाउने र चारवटा मोटरसाइकल आए दुईजनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय गुरुङको भनाइ छ।
नाकामा तीन सय जनाभन्दा बढीले व्यवसाय सञ्चालन गरेका छन्। यहाँ एक सय बढी युवाले लोड-अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनरभित्र लैजाने/ल्याउने काम पाएका छन्। ती युवाले दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)