मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्खाअघि नै कस्टकर बन्दै माइखोला सडक खण्ड

gorkhapatraonline.com · Sun Jun 07 09:59:24 GMT 2026

विगत दुुई दिन यता ठुला मालबाहक सवारी पार हुन नसक्दा मेची राजमार्गको माइखोलास्थित राजदुवाली माथिपट्टिको सडक थप कस्टकर बन्न थालेको छ ।

गएको असोज १८ गतेको वर्षापछि राजमार्गमा गएको पहिरोका कारण अहिले पनि सो सडक खण्डमा सवारी साधन पार हुन ठुलो समस्या रहेको छ । पहिरो माथि नै ट्रयाक खोलेर अस्थाइ रुपमा बनाइएको सडकको अवस्था अहिले पनि त्यहि रहँदा समस्या उस्तै रहेको छ ।

खोलादेखि नै कंक्रिट वाल लगाएर सडकलाई उठाउन थालिए पनि पटक–पटक माथिबाट सडक नै बग्ने, पहिरो खस्ने र माइखोलामा बाढी आउने कारण निरन्तर काम गर्न नसक्दा समस्या उस्तै रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुुभयो ।

दुुई दिन यता सडक नै बग्नेक्रम सुरु भएपछि सवारीलाई सो सडक क्षेत्र पार गराउन समस्या भइरहेको भट्टराईको भनाइ छ । ‘साना सवारीलाई जसोतसो पार गराए पनि लोड भएका ठुला सवारीलाई पहिरो पार गराउन निकै कठिन भएको छ’ भट्टराईले भन्नुुभयो, ‘स्काभेटरको सहयोगमा एउटा सवारीमात्र पार गराउने अवस्था छ ।’

यता दुुई दिनदेखि सामग्री बोकेका सवारी खोलापारी नै बस्नुुपर्दा ठुलो समस्या आएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौड्यालले बताउनुुभयो । ‘काम त हुँदैछ, तर माथिबाट सडक बगिरहने समस्याले सबैलाई सताएको छ । कम्तिमा वैकल्पिक सडकलाई प्रयोग गरेर यो सडकको काम गर्न पाए अलि छिटो हुन्थ्योकि भन्ने छ ।’

पौड्यालले भन्नुुभयो, ‘वैकल्पिक सडकमा जोड्ने भनिएका बेलीब्रिजका सामग्री पनि बिचमै रोकिएका छन् । अब त माइखोला पारिका सर्वसाधारण उपचार गर्न जान नपाएर अझ समस्यामा पर्ने निश्चितजस्तै छ । यही अवस्था हो भने वर्षा याममा यो सडक चल्न सक्दैन ।’

मेची पहाडलाई जोड्ने यो सडकखण्ड अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुुङसम्म आवत–जावत र दैनिक उपभोग्य वस्तुु ढुवानीमा समस्या भएको थियो । अहिले पनि पहिरोमाथि खोलिएको ट्रयाकमा यातायात सञ्चालनमा दैनिक कठिनाइ उत्पन्न भइरहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)