अमेरिकी डलर भाउ १२४.६८ रुपैयाँ
ekantipur.com · Thu Jun 09 00:53:23 GMT 2022
काठमाडौँ — नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै बलियो बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा बिहीबार नयाँ उचाइमा पुगेको हो ।
गत असारको तुलनामा चैतसम्म डलरसँग रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला साढे ४ वर्षमा डलर भाउ करिब २३ रुपैयाँले बढेको छ । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढ्दै गएको हो । पछिल्लो समय गत वैशाख २७ देखि डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थाल्यो । त्यसअघि गत फागुन २४ मा १ डलरको विनिमय दर १२३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १२३.२४ रुपैयाँसम्म पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)