देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
emountaintv.com · Tue Jul 28 03:52:26 GMT 2026
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । विभागले सार्वजनिक गरेको बुलेटिनअनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस र कोशी प्रदेशको तराई भू–भागमा भने आंशिक बदली रहने प्रक्षेपण गरिएको छ । आज दिउँसो हिमाली भू–भागका केही स्थान र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने देखिएको छ । देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा र हिमपातको आकलन गरिएको छ । तराई क्षेत्रतर्फ सुदूरपश्चिमका केही स्थान, कोशी र लुम्बिनीका थोरै स्थान तथा मधेस, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग र कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
Share this:
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)