युवामा चुनावको उत्साह, अलमलमा दलहरू
barnanmedia.com · Fri Nov 14 21:44:52 GMT 2025

आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि युवामा उत्साह देखिएको छ। निर्वाचन घोषणा सँगै सुरुमा मतदाता नामावलीमा नाम गराउनेको संख्या न्यून थियो। तर,पछिल्लोपटक उत्साहजनक उपस्थिति रहेको निर्वाचन आयोगले जनाएको छ। यही कारण आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन १२ घन्टा सेवा मात्र दिएन, पाँच दिन म्याद थप गरेर मंसिर ५ गतेसम्म कायम गरेको छ। यसअघि कात्तिक ३० गतेसम्मको मात्र समय थियो। तर, दैनिक हजारौं युवाले नाम दर्ता गराउन थालेपछि आयोगले शुक्रबार अवधि थपेको हो।
यसअघि मतदाता नामावलीमा नाम दर्ता गराउन आफैं उपस्थित हुनु पर्दथ्यो। तर, राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय हुनेले मतदाता नामावलीका लागि बायोमेट्रिक दिन निर्वाचन कार्यालयमा पुग्नुपर्ने झन्झट बिहीबारबाट अन्त्य गरिएपछि झनै उत्साह बढेको हो। मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको वेब साइटबाट अनलाइन फारम भर्दा राष्ट्रिय परिचय पत्रको नम्बर राखेपछि व्यक्तिगत विवरण समेत आउने र जैविक तथ्यांकपनि त्यतैबाट आउने भएपछि झन्झट कम भएको छ । आयोगले यसअघि ९ असोजदेखि ३० कात्तिकसम्म मतदाता नामावली संकलन खुला गरेको थियो । एक महिनासम्म ८५ हजारले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । तर, मतदाता नामावलीमा नाम दर्ता गराउने समय सकिन थालेपछि दुई सातामा डेढ लाख मतदाता थपिएका छन् । बिहीबार मात्रै ३७ हजार मतदाता थपिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)