दुई प्रमुख उद्देश्यसहित भारत गएका थिए परराष्ट्रमन्त्री खनाल
baahrakhari.com · Sun Jun 07 13:10:14 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । उनी शुक्रबार (जेठ २२ गते) नयाँ दिल्ली पुगेका थिए र लगत्तै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए ।
त्यही दिन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले उनीसँग पनि भेटेका थिए ।
उनको शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । उनीहरू नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा सहभागी भएका थिए ।
द्विपक्षीय वार्तापछि तीन घोषणा भए । पहिलो, सन् २०१५ को ‘भूकम्पपछिको पुनर्निर्माण सहयोग’अन्तर्गत ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजना हस्तान्तरण गरियो । भारतका विदेशमन्त्रीले ती परियोजना परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरेका थिए ।
दोस्रो, भारत र नेपालबीच सीमापार व्यक्तिगत विप्रेषण (रेमिट्यान्स)लाई सहज बनाउन भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच पियर–टु–पियर (पीटुपी) आबद्धताको सुरुवात गरेका थिए ।
तेस्रो, ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्न डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षार भएको थियो । दुवै देशका मन्त्रीको उपस्थितमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
द्विपक्षीय वार्तामा विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जनता–जनताबीचको सम्बन्धलगायत भारत–नेपाल द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूबारे समीक्षा भए । दुई मन्त्रीले आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयहरूमा पनि आफ्ना विचारहरू साटासाट गरेका थिए ।
मन्त्रीद्वयले द्विपक्षीय सहकार्यका प्रगतिप्रति सन्तोष व्यक्त गर्दैै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवम् तालिम तथा क्षमता अभिवृद्धिका क्षेरुमा सहकार्य बढाउन चालिएका हालैका पहलहरूको स्वागत गरेका थिए ।
भारत–नेपालबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्याउने प्रयासहरू तीव्र पार्ने सहमति दुई मन्त्रीबीच भएको थियो ।
भेटवार्तामा दुवै मन्त्रीहरूले आपराधिक मामिलामा भारत–नेपाल पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनमा ल्याउन आन्तरिक प्रक्रिया पूरा भएकामा त्यसको स्वागत गरेका थिए ।
उक्त सम्झौताले सीमापार अपराधसँग सम्बन्धित अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीको प्रभावकारिता बढाउन एक संस्थागत कानुनी ढाँचा प्रदान गरी भारत र नेपालका जनतालाई फाइदा पुर्याउने विश्वास दुवै मन्त्रीले व्यक्त गरेका थिए ।
परराष्ट्रमन्त्रीको भारत भ्रमणको उद्देश्य के थियो ?
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आइतबार परराष्ट्रमन्त्री खनालले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । नेपाली र विदेशी पत्रकार उपस्थित सम्मेलनमा उनले आफू दुई प्रमुख उदेश्य लिई भारत आएको बताए ।
“म दुईवटा बृहत् उद्देश्यका साथ आएको हुँ । एउटा, दुई देशहरूबीचको उच्चस्तरीय राजनीतिक भ्रमणहरू सुरु गर्नु हो । अन्तिम भ्रमण लगभग दुई वर्षअघि भएको थियो र गत वर्ष, विशेष गरी पछिल्ला केही महिनाहरूमा नेपालमा धेरै परिवर्तन भएको थियो । त्यसैले एउटा भनेको उच्चस्तरीय भेटवार्ता सुरु गर्नुथियो,” परराष्ट्रमन्त्री खनालले भने ।
दोस्रो उद्देश्य भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे जानकारी गराउनु रहेको उनले स्पष्ट पारे ।
“मैले हिजो राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेशमन्त्री र उनको टोलीसँग भएको हाम्रो भेटवार्ता धेरै उत्पादक र आकर्षक भएको पाएको छु,” परराष्ट्रमन्त्री खनालले भने, “हामीले कनेक्टिभिटी, द्विपक्षीय सम्बन्धदेखि ऊर्जा र बहुपक्षीय संलग्नतासम्मका विभिन्न मुद्दाहरूमा छलफल गरेका छौँ । त्यसैले सबै मोर्चाहरूमा, हामीले खुला हृदयले छलफल गरेका छौं ।”
पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको सम्भावनाका विषयमा पनि प्रश्न गरिएको थियो ।
“यो मेरो पहिलो भारत भ्रमण हो । म यसलाई यस्ता भ्रमणहरूको सुरुवातको रूपमा हेर्छु । मलाई आशा छ कि अब दुवै तर्फबाट उच्चस्तरीय भ्रमणहरू सुरु हुनेछन् । यस्ता भ्रमणहरू दुई देशबीच नियमित आदान–प्रदानको हिस्सा बन्ने आशा गर्न सक्छौं,” उनले भने ।
नेपाल–भारत सम्बन्ध कस्तो छ ?
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्ध उत्कृष्ट रहेको दाबी गरेका छन् ।
“ऐतिहासिक रूपमा हाम्रो सम्बन्ध उत्कृष्ट रहेको छ । सम्बन्ध धेरै गतिशील छ । त्यसैले हामीले वास्तवमा सबै मुद्दाहरू अगाडि बढाएका छौं,” परराष्ट्रमन्त्री खनाले भने ।
नेपाल–भारत सबै पक्षमा छलफल गरेको उनले उनाए । नयाँ दिल्लीमा भएका भेटवार्तापछि नेपाल र भारतबीच सहकार्यको भावना धेरै उच्च पाएको उनले बताए ।
“म धेरै आशावादी र धेरै आशाका साथ फर्किरहेको छु कि हिजो हामीले सुरु गरेका यी छलफलहरूले केही महिनाहरूमा परिणाम दिनेछन्,” परराष्ट्रमन्त्री खनालले भनाइ थियो ।
नेपाल र भारतबीच बाँकी रहेका बाँकी मुद्दाहरू विद्यमान संयन्त्रहरूमार्फत समाधान गर्नेबारेमा पनि छलफल भएको उनले बताए । पहिलो प्राथमिकता नेपाल र भारतबीच रहेका संयन्त्रहरू सक्रिय गर्नु रहेको उनले जनाए ।
नेपाल–भारत सम्बन्ध उचाईमा पुर्याउन वर्ष २०२६ सबैभन्दा अनुकूल बनेको उनले बताए ।
कुनै पनि समस्या धेरै ठूलो नहुने र कुनै पनि सीमा धेरै जटिल नहुने भनाई उनको थियो । खुला हृदय वा तर्कसंगत दिमाग र पारस्परिक सम्मानका साथ बसियो भने सबै सामान्य हुने उनको विश्वास छ ।
“हामी एउटा यस्तो साझेदारी निर्माण गरौं, जुन विगतको बोझ (चिन्ता)ले सीमित नहोस्, तर हाम्रो साझा भविष्यको उच्च आशा र आशाजनक सम्भावनाहरूले भरिएको होस्,” परराष्ट्रमन्त्री खनालले भने ।
बालेन सरकारले भारतलाई कसरी हेर्छ ?
झन्डै दुई तिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भए । त्यसपछि यो सरकारले भारतसँगको सम्बन्धलाई कसरी हेरिरहेको छ त ?
“हामी २०औँ शताब्दीको भूराजनीतिको विकृत, अतिसंवेदनशील लेन्सबाट भारतलाई हेर्न अस्वीकार गर्छौं । बरु, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल–भारत सम्बन्धको सम्पूर्ण शब्दावलीलाई भूराजनीतिक घर्षणबाट टाढा राखेर विकास र कूटनीतिमा दृढतापूर्वक जोड्न चाहन्छ,” परराष्ट्रमन्त्री खनालको भनाइ थियो ।
रास्वपाले खुला हृदय, स्पष्ट आँखा र एउटै पारदर्शी एजेन्डाका साथ भारतलाई हेर्ने र त्यो भनेको ‘नेपालको आर्थिक रूपान्तरण’ भएको उनले बताए ।
“जब हामी सीमापारि हेर्छौं, हामी एक उदाउँदो भारत देख्छौँ । एक भारत जसले मौलिक र सुन्दर ढंगले विश्वव्यापी मञ्चमा आफूलाई गतिशील, द्रुत गतिमा बढ्दो प्रविधि र आर्थिक शक्तिगृहको रूपमा पुनः परिभाषित गरेको छ,” उनले भने ।
यो भारतसँग आफूहरू ‘इन्गेज’ हुन चाहेको उनले सुनाए । “हाम्रो प्राथमिक जिम्मेवारी भनेको कागजमा गरिएका पुराना वाचा र जमिनमा भएका वास्तविक भौतिक प्रगतिबीचको दूरीलाई बन्द गर्नु हो । अमूर्त राजनीतिक कथनहरूबाट टाढा मापनयोग्य, जीवन परिवर्तनकारी परिणामहरू प्रदान गर्न यो आवश्यक छ,” परराष्ट्रमन्त्री खनालले भने ।
अति–राष्ट्रवादवादी नभइ चुनौतीहरूको सामाना गर्न सद्भावनाका साथ शान्त, तथ्याङ्क र प्रमाण–आधारित छलफल अगाडि बढाइरहेको दाबी उनले गरे ।
“म नेपालमा पूर्णतया नयाँ राजनीतिक वास्तविकताको प्रतिनिधित्व गर्छु । हाम्रो उदय हाम्रा नागरिकहरूबाट असाधारण र ऐतिहासिक जनादेशद्वारा भएको हो । जुन सुशासन, योग्यता र प्रत्यक्ष जवाफदेहितामा केन्द्रित छ,” उनले भने ।
सीमा विवादबारे कुरा उठ्यो ?
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सीमा विवादबारे नयाँ दिल्लीमा भारतीय समकक्षीसँग छलफल भएको संकेत गरेका छन् ।
“सीमा मुद्दाहरू, यी धेरै लामो थातीका मुद्दाहरू हुन् । त्यसैले हामीले प्रस्ताव गरेको कुरा के हो भने सीमा मुद्दाहरूमा पनि दुई देशहरूबीच संयन्त्रहरू छन्, तर यीमध्ये धेरै संयन्त्रहरू निस्क्रिय रहेका छन्,” परराष्ट्रमन्त्री खनालले भने ।
नेपाल–भारत सीमासम्बन्धी एउटा संयन्त्र सक्रिय भई काम गरिरहेको उनले जनाए । सीमाका सम्बन्धमा संयन्त्रले जमिनमा गर्ने कामलाई स्वकार गर्ने उनले बताए ।
“त्यसैले हामी सकारात्मक दृष्टिकोणबाट हेर्न चाहन्थ्यौं र हामीले सुझाव पनि दियौं । अन्य संयन्त्रहरू हेर्न पनि विदेशमन्त्रीले सहमति जनाउनुभएको छ । मलाई लाग्छ, दुवै पक्षको भावना यो छ– टेबलमा बसेर छलफल गर्नुमा कुनै हानि छैन,” परराष्ट्रमन्त्री खनालको भनाइ छ ।
पारस्परिक हितका आधारमा भारतसँग सम्बन्ध निर्माण गर्न आफूहरूले चाहेको उनले जनाए । नेपाल र भारतबीच केही समस्या रहेको उनले स्वीकारे ।
सीमा र सीमाहरूसहितका बाँकी रहेका मुद्दाहरूलाई कूटनीतिक संवाद मार्फत समाधान गर्न सकिने विश्वास उनले व्यक्त गरे ।
“नेपाल र भारतबीच धेरै संयन्त्रहरू छन् । फिल्ड सर्वेक्षण टोली हाल काम गरिरहेको छ । फिल्ड सर्भे टोली नेपाल र भारतबीचको प्राविधिक टोली हो, जसले सीमामा सँगै काम गरिरहेको छ । त्यसैले हामी आशा गर्छौं र हिजो विदेशमन्त्रीसँगको मेरो छलफलमा हामी सहमत भयौं कि हामी यी सबै संयन्त्रहरू सक्रिय पार्न सहमत भएका छौं । ताकि हामीसँग भएका यी समस्याहरू खुलापन र संवादमार्फत समाधान गर्न सकियोस्,” परराष्ट्रमन्त्री खनालले भने ।
कालापानीका विषयमा के बोले ?
पत्रकार सम्मेलनमा कालापानीको विषय पनि उठेको थियो । भारत र चीनबीच लिपुलेकबाट कैलाश मानसरोवर यात्रा सुरु गर्ने विषयमा भएको सहमतिबारे प्रश्न गरेका थिए ।
“कैलाश मानसरोवर यात्रा धेरै फरक फरक सीमा बिन्दुहरूबाट हुन्छ । धेरैले नेपाल हुँदै यात्रा गर्छन् । हाम्रो चिन्ता कालापानी र लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच भएको सम्झौताको नवीकरणसँग छ, जहाँ हामीले धेरै समयदेखि भन्दै आएका छौं कि त्यो भूमि हाम्रो हो । र, नेपालको सहमतिविना, दुई देश (भारत र चीन) ले सम्झौताहरू गर्न सक्दैनन्,” परराष्ट्रमन्त्री खनालले भने ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा र कैलाश मानसरोवर यातात्रका विषयमा नेपालले आफ्नो स्पष्ट धारणा भारत र चीन दुवैसमक्ष विभिन्न माध्यमबाट राखिसकेको उनले जनाए । यसमा कूटनीतिक नोट पनि पर्ने उनले स्पष्ट पारे ।
नेपालले बेलायतको साथ खोजेको हो ?
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा कालापानीमा भारतसँगको सीमा विवाद सुल्झाउन बेलायतको साथा तथा मध्यस्थता खोजिनुपर्ने धारणा राखेका थिए ।
त्यसबारे परराष्ट्रमन्त्री खनालले भने, “हामी हाम्रा विवादहरू कूटनीतिक प्रक्रियामार्फत समाधान गर्न चाहन्छौँ । हामी केवल यो हेर्न चाहन्छौँ बेलायतका पुस्तकालय वा संग्रहालयमा हुनसक्ने केही कागजातमा हाम्रो पहुँच बनाउन सक्छौं कि सक्दैनौँ । हाम्रो अडान यो थिएन कि हामी मध्यस्थताका लागि सोधिरहेका थियौँ ।”
नेपालले भारत र चीन दुवैलाई आधिकारिक कूटनीतिक नोटमार्फत आफ्नो अडान स्पष्ट पारिसकेको उनले दोहोर्याए ।
“हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौं कि भूमि हाम्रो हो । त्यो हाम्रो ऐतिहासिक दाबी हो,” उनले भने ।
धेरै सीमा विवादहरू लामो ऐतिहासिक विरासतको अंश भएको उनले सुनाए ।
नेपालले ईपीजी प्रतिवेदन सार्वजनिक गर्दैछ ?
नेपाल–भातर प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन तयार भएको वर्षौं बित्दा पनि भारतले बुझ्न मानेको छैन ।
परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान गर्नु अघिल्लो दिन ईपीजीका संयोजक डा. भेषबहादुर थापाले ईपीजी प्रतिवेदन रहेको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेका थिए ।
पूर्व सहमतिअनुसार ईपीजी प्रतिवेदेन पहिलो भारतीय प्रधानमनन्त्रीलाई बुझाउनु पर्नेछ । भारतीय प्रधानमन्त्रीले बुझेपछि मात्र प्रतिवेदन नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति छ । तर भारतीय प्रधानमन्त्रीले बुझ्न नमान्दा प्रतिवेदन दराजभित्र थुनिन बाध्य भएको छ ।
“ईपीजी प्रतिवेदन दुई प्रधानमन्त्रीहरूलाई मात्र पेश गर्न सकिने व्यवस्था छ । त्यसैले मलाई त्यो सार्वजनिक गर्ने, स्वीकार गर्ने वा केही गर्ने अधिकार छैन,” परराष्ट्रमन्त्री खनालले स्पष्ट पारे ।
चाँडै जनकपुर–अयोध्या रेल
परराष्ट्रमन्त्री खनालले छिट्टै सीताको जन्मस्थान नेपालको जनकपुर र रामको जन्मस्थान भारतको अयोध्या रेल सम्पर्कले जोडिने बताए ।
“हामीले चाँडै जनकपुर–अयोध्या रेल सम्पर्कले जोडिएको हेर्न पाउने आशा गरेका छौँ । हामीले यसबारे छलफल गरेका छौं । हामी जनकपुरबाट र त्यसमार्फत अन्य क्षेत्रहरूमा पनि त्यो पुनः रेल सेवा सुरु भएको हेर्न उत्सुक छौं,” परराष्ट्रमन्त्री खनालले भने ।
भारतको जेनजी आन्दोलनप्रति मौन
नेपालमा जेनजी आन्दोलनपछिको निर्वाचनबाट झन्डै दुई तिहाइ सिटका साथ सत्तामा पुगेको थियो रास्वपा । यसैकारण परराष्ट्र खनाललाई भारतमा हाल चलिरहेको जेनजी आन्दोलनका विषयमा पनि प्रश्न गरिएको थियो ।
“...जेनजी प्रश्नमा, सेप्टेम्बरमा आन्दोलन भएको थियो र त्यसपछिको राजनीतिक संक्रमणले निश्चित रूपमा हामीलाई सत्तामा ल्याएको छ । म भारतमा के भइरहेको छ भन्नेबारे टिप्पणी गर्न चाहन्न । म नेपाल र नेपाल–भारत सम्बन्धबारे कुरा गर्न पाउँदा खुसी हुन्छु,” मन्त्री खनालले भने ।
भारतीयलाई नेपाल भ्रमणको निम्तो
परराष्ट्रमन्त्री खनालले भारतीयहरूलाई नेपाल घुम्न आउन अनुरोध गरेका छन् । नेपालमा आकर्षक हिमालदेखि पत्रिव आध्यात्मिक क्षेत्रहरूको बखान उनले गरे ।
“म यो अवसरलाई मिडिया र भारतमा रहेका तपाईंहरू सबैलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिन्छु । आउनुहोस् भइरहेको परिवर्तन हेर्नुहोस्,” परराष्ट्रमन्त्री खनालले भने । जनकपुर, लुम्बिनी र मुक्तिनाथ जस्ता पवित्र तीर्थस्थलहरूको अनुभव गर्न उनले भारतीयहरूसँग अनुरोध गरेका थिए ।
अमेरिकासँग निरन्तर वार्तामा
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी ‘ट्यारिफ’ सम्बन्धमा प्रश्न उठेपछि परराष्ट्रमन्त्री खनालले नेपालल अमेरिकासँग वार्तामा रहेको बताए ।
“हामी अमेरिकीहरूसँग निरन्तर वार्तामा छौँ । उनीहरूले केही चिन्ता व्यक्त गरेका छन्,” परराष्ट्रमन्त्री खनालले भने ।
रास्वपाको सरकार बनेपछि अमेरिकाबाट नेपालमा तीन/चार उच्चस्तरीय भ्रमण भइसकेको जानकारी उनले दिए । “त्यसैले, हामी सक्रिय रूपमा छलफलमा संलग्न छौं । यो चलिरहेको छलफलको अंश हो,” उनले भने ।
गोर्खा भर्तिबारे के भयो ?
भारतले ‘अग्निवीर योजना’ ल्याएपछि भारतीय गोर्खा भर्तीमा नेपालीहरूको भर्ना प्रक्रिया रोकिएको छ ।
अग्निवीरका विषयमा पनि छलफल भयो कि भन्ने जिज्ञासामा परराष्ट्रमन्त्री खनालले भने, “पहिले भर्ती त्रिपक्षीय सम्झौतामार्फत गरिन्थ्यो । पछिल्ला वार्तालापहरूमा, हामी ती विषयमा प्रवेश गरेका छैनौं । जब भारत सरकारले यो आवश्यक महसुस गर्छ, अन्य कुनै पनि मुद्दा जस्तै, हामी टेबलमा बसेर यो मुद्दा पनि उठाउन पाउँदा खुसी हुन्छौं ।”
नयाँ साझेदारी निर्माण
परराष्ट्रमन्त्री खनालले नेपाल र भारतबीचका समस्या पारस्परिक सम्मानका साथ छलफलमा बस्ने हो भने समाधान हुने बताए ।
“जब हामी खुला हृदय, तर्कसंगत सोच र पारस्परिक सम्मानका साथ बस्छौं, तब कुनै पनि समस्या धेरै ठूलो हुँदैन र कुनै पनि सीमा धेरै जटिल हुँदैन,” परराष्ट्रमन्त्री खनालको भनाई थियो ।
परराष्ट्रमन्त्री खनालले थप स्पष्ट पार्दै अगाडि भने, “हामी एउटा यस्तो साझेदारी निर्माण गरौं, जुन विगतको चिन्ताले सीमित नहोस्, तर हाम्रो साझा भविष्यको उच्च आशा र आशाजनक सम्भावनाहरूले भरिएको होस् ।”
#भारत
#परराष्ट्रमन्त्री
#सुरेन्द्र पौडेल
#उद्देश्य
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बालेन शाह
प्रतिनिधि सभा