मंसिर १ गतेदेखि काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन अनिवार्य लागू गरिने
hamrakura.com · Mon Sep 28 00:00:00 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी मंसिर १ गतेदेखि काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने घोषणा गरेकी छन्। मन्त्रालयद्वारा सोमबार आयोजित ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयनको अवस्था र अबको कार्ययोजना’ सम्बन्धी काठमाडौँ उपत्यकाका स्थानीय जनप्रतिनिधिहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले आम उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउन ऐनको अनिवार्य कार्यान्वयन गर्न लागिएको बताएकी छन्।
मन्त्री चौधरीका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकामा ऐन लागू गरेपछि आगामी माघ १ गतेदेखि अन्य नगरपालिकाहरूमा र २०८४ साउन १ गतेदेखि देशभर नै ऐन पूर्ण रूपमा लागू गर्ने सरकारको कार्ययोजना रहेको छ। ऐन बनेको २८ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा आम उपभोक्ताहरू अस्वस्थकर मासु उपभोग गर्न बाध्य भइरहेको उल्लेख गर्दै उनले यसको सफल कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच सशक्त समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएकी छन्। ऐन बनेको लामो समय बित्दा पनि यसअघि हेटौँडामा विक्रम संवत् २०६०, सुर्खेतमा २०८० र बुटवलमा २०८१ मा केही वधशालाहरूमा मात्र आंशिक रूपमा ऐन लागू गरिए तापनि त्यो पूर्ण रूपमा सफल हुन नसकेको उनले जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)