विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
arthasansar.com · Mon Sep 28 09:56:55 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) ले उत्पादन लागत बढेको भन्दै मुअकर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह र समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पर्ने महासंघले जनाएको छ । मुअकर थपिँदा विशेषगरी उच्च उर्जा खपत गर्ने, मुअकर छुटको कारोबार गर्ने साथै साना तथा मझोला उद्योगहरु र होटल तथा पर्यटन व्यवसायको लागत बढ्ेको व्यबसायीहरुबाट गुनासो आएको महासंघले जनाएको छ ।
कानुनबमोजिम इनपुट ट्याक्स क्रेडिटको व्यवस्था भए पनि कर समायोजन तथा फिर्ता प्रक्रिया र कारोबारको प्रकृतिका कारण सबै व्यवसायले विद्युतमा तिरेको भ्याट तत्काल वा पूर्ण रूपमा समायोजन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरुको गुनासो छ । यसले सञ्चालन पुँजीमा दबाब सिर्जना गर्नुका साथै नयाँ लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनामा समेत असर पारेको छ । यस्तो प्रावधानले उद्योगले व्यवसाय विस्तार गर्न र रोजगारी सिर्जना गर्न समेत बाधा पुगेको छ । साथै यसको भार उपभोक्तासम्म पुग्ने र समग्र मूल्यवृद्धिमा थप चाप पर्न सक्ने अवस्था सिर्जना हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)